
बुक बिल्डिंग बिधि मार्फत सर्वसाधारणलाई साधारण शेयर निष्काशनको पर्खाईमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार रिलायन्स स्पिनिङ्गको दोस्रो त्रैमासको खुद मुनाफा १८ करोड ८८ लाख ८२ हजार रहेको छ। जुन पहिलो त्रैमासको तुलनामा झन्डै दश करोडले बढी हो। पहिलो त्रैमाससम्ममा रिलायन्सले ८ करोड ६० लाख खुद मुनाफा आर्जन गरेको थियो।
त्यस्तै, पुष मसान्तसम्मको खुद मुनाफा गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा करिब १३ करोडले बढी हो। गत आर्थिक बर्षको असार मसान्तसम्ममा रिलायन्सले करिब ५ करोड ३८ लाख खुद मुनाफा आर्जन गरेको थियो।
त्यस्तै, पहिलो ६ महिनामा रिलायन्सको प्रति शेयर आम्दानी २२ रुपैयाँ १९ पैसा रहेको छ। जुन, पहिलो त्रैमासको तुलनामा करिब चार रुपैयाँले बढी हो भने गत आर्थिक वर्षको तुलनामा करिब १९ रुपैयाँले बढी हो।
प्रिमियम मूल्यमा आइपीओ ल्याएका भन्दा अव्वल ईपिएस
सर्वसाधारणलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गरेका कम्पनीहरुसंगको तुलनामा समेत रिलायन्स स्पिनिङ्गको प्रति शेयर आम्दानी अव्वल दहरिएको छ। पछिल्लो पांच आर्थिक वर्षको विवरण हेर्दा प्रिमियम मूल्यमा आइपीओ ल्याएका सर्बोत्तम सिमेन्ट, सोनापुर सिमेन्ट, घोराही सिमेन्ट र शिवम सिमेन्टको तुलनामा रिलायन्सको प्रति शेयर आम्दानी राम्रो देखिन्छ।
आर्थिक वर्ष २०७७-०७८ देखि २०८०-०८२ र चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरणकाअनुसार प्रति शेयर आम्दानीमा रिलायन्स स्पिनिङ्गको एपिएस बलियो देखिएको छ।
कोभिड तथा आर्थिक मन्दीले अर्थतन्त्रमा असर पुर्याएको अवस्थामा अन्य कम्पनीहरु नेगेटिभ एपिएस मा पुग्दा समेत रिलायन्स स्पिनिङ्ग मिल्सले आफुलाई नेगेटिभ अवस्थामा जानबाट बचाएको देखिन्छ। बिशेषगरि आर्थिक वर्ष २०८०-०८१ र आर्थिक वर्ष ०८१-०८२ मा माथि तुलना गरिएका कम्पनीको प्रति शेयर आम्दानी नेगेटिभ देखिएपनि रिलायन्सको भने पोजेटिभ देखिएको छ।