एन.सी. एग्रो टेक इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १०० दरको १८,००,००० कित्ता आईपीओ निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सो सम्बन्धमा आईतबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एन.सी. एग्रो टेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट सञ्चालक दीपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
वि.सं. २०७५ कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको यस कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको टोखा नगरपालिका–८ मा रहेको छ भने उत्पादन क्षेत्र पूर्व नवलपरासी, गैडाकोट–१४, नवलपुरमा अवस्थित छ।
कम्पनीले नेपाल सरकारको कृषि दशक अभियान अन्तर्गत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर च्याउ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने तथा च्याउ विदेश निर्यात गर्ने लक्ष्य राखेको छ। साथै, औषधीय महत्व बोकेका यार्सागुम्बा, लायन्समाने, गानोडर्मा, टर्कीटेल, सिताके, ग्रीफोला लगायतका च्याउको माइसेलियम उत्पादन गरी क्याप्सुल निर्माण तथा निर्यात गरिरहेको छ।
त्यस्तै, अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राइ मशरुम, मशरुम सुप, क्यान मशरुम लगायतका उत्पादनहरू गरिरहेको छ। च्याउ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ (कम्पोष्ट) उत्पादन गरी नेपालभरका किसान तथा व्यवसायिक कृषकहरूलाई वितरण गर्दै आइरहेको कम्पनीले बाँस प्रशोधनबाट निष्कने भूषलाई कोइलामा परिणत गरी वातावरणमैत्री संरचना निर्माणसमेत गरिरहेको छ।
कम्पनीले विभिन्न खालका च्याउको व्यावसायिक तालिम, उत्पादन प्रविधि र च्याउका बीउबिजन उपलब्ध गराउँदै आइरहेको छ। साथै, अत्याधुनिक प्रविधि प्रयोग गरी बाँसका टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्का लगायतका उत्पादनहरू गर्दै आएको छ।
यस कम्पनीमा प्रतिष्ठित व्यवसायी, च्याउ विज्ञ, कृषक, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य विशेषज्ञहरू संलग्न रहेका छन्। कम्पनीले खेर गइरहेका कृषि उपजहरूलाई उपयोग गर्दै नवीनतम प्रविधिमा आधारित च्याउ उत्पादन प्रणालीलाई विस्तार गर्ने लक्ष्य राखेको छ।