
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालयमा बिहान औपचारिक रूपमा शेयर बाँडफाँट गरिएको हो।
कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए। तीमध्ये २ लाख ८ हजार २७८ वटा आवेदन विभिन्न कारणले रद्द भएका छन्। बाँकी १८ लाख ४८ हजार २९८ योग्य आवेदकहरूलाई गोलाप्रथामा सहभागी गराइएको थियो। अत्यधिक आवेदन परेपछि बाँडफाँट प्रक्रिया गोलाप्रथामार्फत सम्पन्न गरिएको हो।
कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर आईपीओ निष्काशन गरेको थियो। ओम मेगाश्रीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित शेयर निष्काशन गरेको थियो भने यो दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गरिएको हो।
आईपीओको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट तथा मेरो शेयर पोर्टलबाट हेर्न सकिनेछ।