ओम मेगाश्री फर्मास्युटिकल्सले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा वितरण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। यस आईपीओमा मागभन्दा करिब १६ गुणा बढीको आवेदन परेको थियो।
यसै सन्दर्भमा, कम्पनीको हालको अवस्था र भविष्यका योजनाबारे कम्पनीका कार्यकारी निर्देशक नेत्रनाथ पौडेलसँग बिजपाटी डटकमका लागि सीता बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंशः
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा अत्यधिक आवेदन परेको छ, यसलाई कसरी लिनुभएको छ ?
यसलाई राम्रो अवसरका रूपमा लिएका छौँ। ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्षलगायत सम्पूर्ण टिमको मेहनतले नै कम्पनीलाई यस स्थानसम्म ल्याएको हो। त्यसैले लगानीकर्ताले विश्वास गरेर बढी आवेदन दिएका हुन्।
कम्पनीको वित्तीय अवस्था बलियो भएर आवेदन धेरै परेका हुन् कि दश कित्ते नीतिको प्रभाव पर्यो ?
लगानीकर्ताले पहिलोपटक हेर्ने भनेको कम्पनीको वित्तीय अवस्था नै हो। हाम्रो वित्तीय अवस्था राम्रो भएकाले, साथै विभिन्न क्षेत्रका व्यक्तिहरू कम्पनीसँग आबद्ध भएकाले मागभन्दा बढी आवेदन परेको हो।
ओम मेगाश्री फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्नुको मुख्य उद्देश्य के हो ?
हाम्रो पहिलो उद्देश्य आम नागरिकलाई कम्पनीसँग जोड्ने हो। स्वास्थ्य र राष्ट्रको सेवाका लागि केही गर्ने परिकल्पनाका आधारमा आईपीओ निष्कासन गरिएको हो। साथै, अनुसन्धान तथा विकास क्षेत्रमा केन्द्रित रहने उद्देश्यले पनि हामीले सर्वसाधारणका लागि आईपीओ जारी गरेका हौँ।
आईपीओ मार्फत उठाएको पुँजी कहाँ र कसरी प्रयोग गर्ने योजना छ?
आईपीओबाट प्राप्त पुँजी मुख्य रूपमा दुई क्षेत्रमा प्रयोग गरिनेछ । पहिलो, बैंकबाट लिएको ८ करोड ऋण चुक्ता गर्नेछौँ । बाँकी रकम कम्पनी विस्तारका साथै अनुसन्धानका एवम् विकासका लागि खर्च गरिनेछ । लगानीकर्तालाई सही प्रतिफल दिने उद्देश्यले पुँजीलाई सही ठाउँमा, सही रूपमा उपयोग गर्ने नीति अपनाएका छौँ।
ओम मेगाश्री फर्मास्युटिकल्सको हालको उत्पादन क्षमता र बजार हिस्साबारे जानकारी दिनुहोस् न ?
हाल नेपालमा औषधि बजारको कुल आकार करिब ७० खर्बभन्दा बढी छ। नेपाली कम्पनीहरूको योगदान करिब ४८ प्रतिशत रहेको छ। यो हिसाबले हेर्दा, नेपाली औषधि उद्योगको बजार हिस्सा अझै ५० प्रतिशत हाराहारी नै छ। नेपाली बजारमा करिब ७–८ वटा मात्र कम्पनीहरूले प्रभावकारी रूपमा काम गरिरहेका छन्। जसले जोखिम मोलेर बजारमा आफ्नो स्थान बनाउँछ, तिनका लागि अझै अवसरहरू खुला छन्। नयाँ कम्पनीहरूले गुणस्तरमा ध्यान दिएकाले नेपाली नागरिकले नेपाली कम्पनीहरूप्रति विशेष विश्वास देखाएका छन्।
कम्पनीको अडिटेड वित्तीय विवरण कस्तो देखिएको छ ? मुनाफा, आम्दानी र ऋण अनुपातबारे थप स्पष्ट पारिदिनुहोस्।
बजारमा आएको पहिलो वर्षमै सबै कुरा तुरुन्तै उकालो लाग्छ भन्ने हुँदैन। तर, हामी राम्रो प्रयास गर्दै अघि बढिरहेका छौँ। नेपाली कम्पनीहरूको विगतको अनुभवलाई आधार मानेर, मजबुत लक्ष्यका साथ अघि बढेका छौँ। उपभोक्ता, डाक्टर तथा सरोकारवाला निकायबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ। यस हिसाबले हेर्दा, हामी सही दिशामा छौँ भन्ने अनुभव भएको छ।
हाल कम्पनीको वित्तीय अवस्था कस्तो छ ?
हाम्रो वित्तीय अवस्थाको विस्तृत जानकारी हामी तीन महिनाको विवरणमा सार्वजनिक गर्नेछौँ। हालसम्मको समग्र मूल्यांकन हेर्दा अवस्था राम्रो रहेको देखिन्छ। डेटा विश्लेषणसम्बन्धी प्रतिवेदन हाम्रा आगामी प्रतिवेदनका साथै कम्पनीले जारी गरेको प्रोस्पेक्टसमा पाउनुहुने छ ।
अन्त्यमा, लगानीकर्तालाई के भन्न चाहनुहुन्छ?
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ पाउनुभएका तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लिस्टिङ भएपछि जसरी पनि लगानी गर्न चाहने सबै लगानीकर्ताले सही निर्णय लिनुभएको छ। हामी सबै एउटै यात्रामा छौँ, र हामीलाई विश्वास गर्ने सम्पूर्ण लगानीकर्तालाई उत्कृष्ट प्रतिफल दिने लक्ष्य लिएका छौँ। त्यसैले, कोही पनि नआत्तिनुहोला। हामी सबै मिलेर सफलता प्राप्त गर्नेछौँ र ओम मेगाश्रीलाई ब्रान्डेड कम्पनी बनाउने छौँ ।