पाँचतारे होटल ईच्छाको आईपीओ निष्कासनको तयारी, बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2025 | 07:49:16 AM मा प्रकाशित

nepal oil ltd

मधेश प्रदेशको बारास्थित पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। यस सम्बन्धमा होटलले निष्कासन तथा बिक्री प्रवन्धकका रूपमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। 

सम्झौतापत्रमा होटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्।

सो कार्यक्रममा होटलका संस्थापक अध्यक्ष इच्छाबहादुर वाग्ले, सञ्चालक मुनसन वाग्ले, संस्थापक शेयरधनी लालकाजी खड्का, गोकर्ण खतिवडा, सञ्जोग विक्रम कुँवर तथा बिक्री प्रवन्धक कम्पनीका प्रमुख सञ्चालन अधिकृत रामप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो।

होटल ईच्छाको अधिकृत पूँजी २०० करोड र जारी पूँजी १५० करोड रुपैयाँ रहेको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ।

२०७४ सालमा योगगुरु बाबा रामदेवबाट उद्घाटन भई चारतारे श्रेणीमा सञ्चालनमा आएको होटलले २०७९ मा पाँचतारे मान्यता प्राप्त गरेको थियो। हाल कम्पनी सार्वजनिक लिमिटेडको रूपमा रूपान्तरण भई सञ्चालित छ। प्रारम्भमा इच्छाबहादुर वाग्लेको व्यक्तिगत लगानीमा स्थापना भएको होटलमा अहिले प्रवद्र्धक समूहको चुक्ता पूँजी १२० करोड रुपैयाँ पुगेको छ।

५ विघा क्षेत्रफलमा फैलिएको यस होटलमा १०० वटा सुविधा सम्पन्न कोठा, स्वीमिङ पूल, क्यासिनो, स्पा, बैंक्वेट, क्लब हाउसलगायत संरचना रहेका छन्। हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई स्तरीय भवनमा सार्ने र भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहसँग सहकार्य गरी होटल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको संस्थापक वाग्लेले जानकारी दिएका छन्।

साथै, होटललाई भारतको बिहार प्रदेशका नागरिकका लागि डेस्टिनेशन म्यारिज र क्यासिनो गन्तव्यका रूपमा प्रवद्र्धन गरिँदै आएको छ। काठमाण्डौ–निजगढ फास्ट ट्र्याक तथा सिमरा विमानस्थलको सहज पहुँचले होटललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य कम्पनीले लिएको छ। कम्पनीले आगामी आर्थिक वर्षभित्र आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved