
ट्रेड टावर लिमिटेडले झन्डै तीन वर्षपछिमात्र आईपीओ निष्काशनको अनुमति पाएको छ । कम्पनीले सार्वजनिक शेयर निष्काशनको प्रस्ताव गरेको ३२ महिनापछि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । यो निर्णयले पूँजी बजारमा चर्चा मात्र होइन, आलोचना र समर्थन दुवै पैदा गरेको छ ।
थापाथलीस्थित नेपाल खाद्य संस्थानको भाडामा लिएको जग्गामा व्यापारिक भवन निर्माण गरी भाडामा लगाउँदै आएको ट्रेड टावरले स्थायीत्वको आधारमा नभइ भाडामा आधारित कारोबार गरिरहेको भन्दै कतिपयले यसलाई ‘विवादास्पद स्वीकृति’ भनेका छन् । उनीहरुको भनाइमा, कम्पनीको प्रमुख सम्पत्ति र आम्दानी स्रोत सीमित अवधिको भाडा सम्झौतामाथि आधारित हुँदा दीर्घकालीन वित्तीय विश्वसनीयतामा प्रश्न उठ्छ ।
तर बोर्डले भने ट्रेड टावरको आयस्रोत बहुआयामिक रहेको तर्क दिएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार, कम्पनीले काठमाडौंको व्यापारिक भवनबाहेक ललितपुरको भैंसेपाटीमा जनता आवास परियोजना सम्पन्न गरी बिक्री गरिसकेको छ भने गौशालास्थित क्रिस्टल होटल सञ्चालनमा ल्याएको छ । उक्त होटलबाट कम्पनीले नियमित आम्दानी गरिरहेको छ ।
बोर्डले यसअघि कम्पनीको आईपीओ सम्भाव्यताको मूल्यांकन गर्न अध्ययन समिति बनाएको थियो, जसको सिफारिसअनुसार हालको निर्णय लिइएको हो । यसैबीच, ट्रेड टावरले चैत २५ गतेबाट सर्वसाधारणलाई ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति पाएको छ । १०० रुपैयाँ अंकित दरमा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर खुला गरिनेछ ।
कम्पनीले यस आईपीओमार्फत चुक्तापुँजीको ४८.६९६ प्रतिशत बराबर शेयर बिक्री गर्दैछ भने आईपीओपछि कुल चुक्तापुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ पुग्नेछ । आईपीओ विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले २०८१ मंसिर १२ गते सम्पन्न वार्षिक साधारणसभाबाट उपयुक्त साझेदार भेटेमा मर्जर गर्न अख्तियारी दिने निर्णयसमेत पारित गरेको छ, जसले दीर्घकालीन योजनामा केन्द्रित कम्पनीको नीति स्पष्ट देखाउँछ ।