नेपाली औषधि उद्योग क्षेत्रको एक प्रतिष्ठित कम्पनी एरो फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने तयारी गरेको छ । उक्त शेयरको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको छ । शेयर निष्काशन तथा विक्री प्रक्रिया सहज र व्यवस्थित बनाउने उद्देश्यले कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा एरो फर्मास्युटिकल्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धव प्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् । चैत २८ गते काठमाडौंस्थित ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको हो ।
आधिकारिक पुँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका–३, बसुन्धरामा रहेको छ भने औषधि उत्पादन गर्ने कारखाना भक्तपुरको सुडालमा अवस्थित छ ।
विगत ५ वर्षदेखि कम्पनीले १०७ ब्रान्डका विभिन्न प्रकारका ट्याब्लेट्स, क्याप्सुल्स, ओइन्टमेन्ट, ड्राइ सस्पेन्सन, पाउडर औषधिहरु उत्पादन गर्दै आएको छ । कम्पनीको मुख्य उत्पादनमध्ये उच्च रक्तचाप, मधुमेह र एन्टिबायोटिक औषधिहरू प्रमुख छन् । यस आर्थिक वर्षदेखि कम्पनीले भेटेरिनरी (जनावर) औषधिहरुको उत्पादन पनि शुरु गरेको छ ।