
कुनै समय लगानीकर्ताले कम्पनीको नाफा, कारोबार स्थिति, र प्रतिफलका आधारमा सेयर बजारमा लगानी गर्ने गर्थे। तर अहिलेको बजार प्रवृत्तिले शेयर बजारको अनुहार मात्र होइन, लगानीकर्ताको पहिचान समेत परिवर्तन गरिदिएको छ।
हाल शेयर लगानीकर्ता शब्दको सट्टा ‘शेयर कारोबारी’ भन्ने चलन बढेको छ। एकजना अनुभवि ब्रोकरले बताएअनुसार, सेयर बजारको डिजिटल रूपान्तरण र अनलाइन कारोबार प्रणालीको विकासले यो प्रवृत्ति तीव्र गतिमा अघि बढेको छ।
उनकाअनुसार, “पहिला बलियो व्यवसायिक पृष्ठभूमि भएका कम्पनीको शेयरमा लगानी गर्ने प्रवृत्ति हुन्थ्यो, अहिले भने त्यस्ता कम्पनीको तुलनामा बजारमा धेरै कारोबार हुने र मूल्यमा तीव्र उतारचढाव हुने कम्पनीहरुको शेयरमा आकर्षण बढेको छ।”
यसले गर्दा सानो पूँजी, कमजोर नाफा, र कमजोर कारोबार भएका कम्पनीको शेयरमा समेत कृत्रिम चाप सिर्जना हुने गरेको छ। बजारका केही ‘खेलाडी’हरुले यस्तो ‘स्क्रिप्ट’मा कृत्रिम कारोबार गरी मूल्य बढाउने र छोटो समयमा नाफा कमाउने रणनीति अपनाउने गरेका छन्।
यस्तो प्रवृत्तिले अल्पकालीन फाइदा त केहीलाई हुन्छ, तर धेरैजसो शेयर कारोबारी भने घाटामै जाने गरेको तथ्यांकले देखाएको छ। ब्रोकरका अनुसार, अहिलेको पुस्ताले कम्पनीको वास्तविक अवस्था भन्दा पनि मूल्यमा हुने तीव्र उतारचढावलाई प्राथमिकता दिने गरेका छन्।
शेयर मूल्य घटे पनि प्रतिफलबाट लगानीको जोखिम सम्हाल्न सक्ने कम्पनीहरुमा लगानी गर्नु दीर्घकालीन हितमा हुने सुझाव विश्लेषकहरु दिन्छन्। तर बजारमा हाल देखिएको प्रवृत्तिले दीर्घकालीन लगानी भन्दा छोटो अवधिको कारोबारलाई प्राथमिकता दिएको देखिन्छ।
यसले गर्दा शेयर बजारमा बलिया कम्पनीको मूल्य स्थिर हुँदा पनि कमजोर कम्पनीको मूल्य कृत्रिम रुपमा आकाशिएको र यस्तो शैलीले बजारमा जोखिम बढाएको स्पष्ट देखिन थालेको छ।
शेयर कारोबारीको यो मानसिकतालाई बुझेर नै पछिल्लो समय धेरै पूँजी भएका कम्पनीहरुले पनि सानो सानो आकारको साधारण शेयर आइपीओ ल्याउने र त्यसको मूल्यको आधारमा आफ्नो संस्थापक सेयरको भ्यालू बढाएर त्यसबाट प्रशस्त लाभ लिने गरेका छन्। तर यस प्रकारको अभ्यास कसैको पनि हितमा नहुने भएकाले यस प्रकारको कमजोरी रोक्नलाई नियामक नेपाल धितोपत्र लगायतका नियामकले बिशेष चाँसो दिनुपर्ने जानकार बताउछन।