
सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन (आईपीओ) निस्कासन गर्ने भएको छ । कम्पनीले रु. १०० अंकित मूल्यमा १२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनको तयारी गरिरहेको हो । आईपीओ जारी गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यस सम्बन्धमा २०८२ वैशाख १५ गते सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा सुप्रिम हेल्थ केयर लिमिटेडका कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुद्वारा प्रवद्र्धित विगत ६ वर्षदेखि लगातार नाफा कमाउन सफल यस सुप्रिम हेल्थ केयर लि. वि.सं. २०६६ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कम्पनी हो । यसको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बारा जिल्लाको परवानीपुरमा रहेको छ भने सम्पर्क कार्यालय गहनापोखरी काठमाण्डौंमा रहेको छ ।
कम्पनीले ट्याब्लेट, क्याप्सुल, क्रीम, लोशन, सोलुसनजस्ता ८५ भन्दा बढी उत्पादनहरू ३५ उपचार वर्गमा वितरण गर्दै आएको छ । ‘पेनडोम–डी एसआर’, ‘एमलोस्पाएर–एल’, ‘एटोस्पाएर–२०’, ‘मेटस्पाएर–जी २ फोर्ट’, ‘टेल्सपायर–४०’, ‘एजीसप–५००’, ‘सुपरजोल–१००’, ‘सिलिपाइन–५/१००’ लगायतका औषधी कम्पनीका चर्चित ब्रान्ड हुन् ।
औषधि उत्पादनसँगै सुप्रिम हेल्थले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण तथा स्वास्थ्य साक्षरता कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । सार्वजनिक निष्कासनपछि कम्पनीको पुँजी संरचना थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।