स्वदेशी जुत्ता चप्पल लगाउन युवाहरु आकर्षित, उत्पादनमा भने बुढापाका मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 03:41:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल जुत्ता चप्पलमा आत्मनिर्भर उन्मुख छ भनेर निष्कर्ष निकालिएको एक वर्ष पुग्यो । चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्ने रणनीति अनुसार सबै सुरक्षा निकायलाई स्वदेशी पोसाक र जुत्ता प्रयोग गर्न लगाईने भनियो ।

त्यस लगत्तै गत जेठ १५ गते बजेट भाषणमार्फत पनि सबै सुरक्षा निकायले जुत्ता तथा पोसाक स्वदेशमै उत्पादित प्रयोग गर्नुपर्ने घोषणा भएपनि हालसम्म कार्यान्वयन भएको छैन । आएका नीति कार्यान्वयन नहुनु दुःखद भएको उद्योगीहरुले गुनासो गर्दै आएका छन् ।

स्वदेशी उत्पादनमा रमाउने बढे

२०७२ सालमा नेपालले संविधान जारी गरेपछि भारतले ६ महिना लामो नाकाबन्दी गर्यो । त्यस बेलादेखि नेपालीहरुमा आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतनाले एकाएक घर जमायो । उत्पादनका क्षेत्रमा लाग्ने जनशक्ति कम भएपनि स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ भन्ने चेतना जागृत गराउन भारतको नाकाबन्दीले ठूलो प्रभाव पारेको ब्ल्याक हर्स इन्डष्ट्रिजका सञ्चालक चिन बहादुर श्रेष्ठको भनाई छ ।

यो पनिः
घोषणामै सिमित ‘सुरक्षाकर्मीको खुट्टामा नेपालकै जुत्ता’ कार्यक्रम

‘नेपाली प्रोडक्टको प्रयोग गर्नुपर्छ, आवश्यकता अनुसार सबै उत्पादन स्वदेशमै हुनुपर्छ भन्ने युवाहरु धेरै बढेका छन्’ श्रेष्ठ भन्छन्, ‘अहिलेका पुस्ताहरु राम्रो लुक्स खोज्छन्, उनीहरुले खोज जस्तो लुक्स दिन सक्ने हो भने जुत्ता चप्पल बाहिरबाट ल्याउनुपर्ने बाध्यता हुँदैन ।’

अहिले विभिन्न समयमा हुने जुत्ता चप्पल मेलामा पनि युवा पुस्ताकै बढी आकर्षण हुने गरेको उनको भनाई छ । यसले उद्योगीहरुलाई हौसला प्राप्त भएपनि सरकारले नेपाली जुत्ता चप्पलको उत्पादन र खपत दुबै बढाउन भनेर ल्याएका नीति कार्यान्वयन नहुँदा समस्या भएको उद्योगीहरुले बताउँदै आएका छन् ।

भरपर्दो जनशक्ति भएन

जुत्ता चप्पल उद्योगमा ५० हजार जनशक्ति खपत भएको छ । यी मध्ये ५० प्रतिशत बढी विदेशी छन् । नेपालमा दक्ष जनशक्ति नहुँदा विदेशबाट कामदार ल्याएर उद्योग चलाउनुपर्ने बाध्यता रहेको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्ण कुमार फुयाँलको भनाई छ ।

‘काम सिकेको जनशक्ति छैन, हामीले सिकाउने काम पनि गरेका छौँ’ उनी भन्छन्, ‘तर, हाम्रो देशमा टिकाउ र भरपर्दो जनशक्ति नै भएन ।’

अलिअलि काम सिक्नासाथ विदेश हिडिहाल्ने युवाहरुको मनोकांक्षाका कारण नेपालले जुत्ता चप्पल उद्योगमा दक्ष जनशक्ति पाउन नसकेको अध्यक्ष फुयाँलको भनाई छ । 

‘हाम्रा युवाहरु म्यानपावरलाई पासपोर्ट बुझाएर यसो काम गर्न भनेर आउने, भिसा लाग्नासाथ झट्ट छोडेर हिडिहाल्ने खालका भए’ उनले भने, ‘हाम्रा उद्योगहरु अहिले महिला कामदारको भरमा छन् ।’

यसअघिः
‘जुत्ता चप्पलमा आत्मनिर्भर बन्न नेपाली उद्योगीलाई नै छाला बेच्नुपर्छ’ अध्यक्ष फुयाँलको विचार

महिलाले चाँडो काम सिक्ने भएपनि दक्ष रुपमा काम गर्न सक्ने भइसकेपछि कोही बिहे गरेर जाने र बिहेपछि आउन नसक्ने, कोही विदेश तिर नै जाने जस्ता समस्याले जुत्ता चप्पल उद्योगमा स्वदेशी जनशक्तिको खाँचो रहेको ब्ल्याक हर्स इन्डष्ट्रिजका सञ्चालक चिन बहादुर श्रेष्ठ बताउँछन् ।

युवाको आकर्षण

युवाहरु ‘मेड इन नेपाल’ प्रति आकर्षित भएपनि आफैँ उत्पादनमा नलाग्नु चाहिँ दुःखद भएको उद्योगीहरुकै भनाई छ ।

जुत्ता चप्पलमा मात्रै नभई हरेक बस्तुहरु स्वदेशी नै प्रयोग गर्नुपर्छ भन्ने मानसिक चेतनाको विकास भएपनि युवाहरु आफैँ उत्पादनमा भने नलागेको विभिन्न अध्ययनले पनि देखाउने गरेका छन् । राष्ट्रवाद युवाहरुमा फरक किसिमले जागेपनि उत्पादनमा नलाग्दासम्म मूलुक आत्मनिर्भर बन्न नसक्ने उद्योगीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved