प्रतिकिलो ७२ रुपैयाँमा उत्पादन हुने डण्डीको भाउ १०७ कसरी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 06, 2021 | 10:31:31 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिले निर्माण सामग्री फलामे डण्डीको भाउ अत्याधिक बढेको छ । निर्माण व्यवसायीहरु डण्डीको भाउमा अस्वभाविक मूल्य वृद्धि गरिएको गुनासो गरिरहेका छन् । निषेधाज्ञाकै बीचमा एक किलो डण्डीको भाउ ८५ देखि ८५ रुपैयाँबाट एकाएक १०७ देखि ११० रुपैयाँसम्म पुगेको छ ।

निषेधाज्ञा जारी नभएका जिल्लामा विकास निर्माणका काम चलिरहेको अवस्थामा उद्योगीहरुले उत्पादन कम भएको, मजदूरहरु अभाव भएको र बजारमा स्टक सकिँदै गएको भन्दै आफूखुशी भाउ बढाएको निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालको भनाई छ । 

कति लाग्छ उत्पादन खर्च ?

भन्सार विभागको तथ्यांक अनुसार चैत महिनामा ८८ करोड ९ लाख ६९ हजार ४६ किलो ब्लेड आयात भएको छ । यस वापत नेपाली उद्योगीहरुले ५० अर्ब ७५ करोड ८४ लाख ३३ हजार रुपैयाँ तिरेका छन् । 

यस हिसाबमा एक किलो ब्लेडको मूल्य एभरेजमा ५८ रुपैयाँ पर्न आउँछ । १५ प्रतिशत भन्सार तिर्दा एक किलो ब्लेड ६६ रुपैयाँमा नेपाल भित्रिन्छ । त्यसलाई प्रोशेसिङ गरेर तयारी डण्डी बनाउन आयात भएको शुल्कमा १० प्रतिशत मात्रै थप खर्च हुने उद्योगीहरु नै बताउँछन् । यस आधारमा ६६ रुपैयाँमा नेपाल भित्रिएको ब्लेड तयारी डण्डी बन्दा लागत खर्च प्रति किलो ७२ रुपैयाँ हुन आउँछ ।

यसमा उद्योगीले १० प्रतिशत नाफा राख्दा ७९ रुपैयाँ र व्यापारीले अर्को १० प्रतिशत नाफा राख्दा ८६ रुपैयाँ प्रतिकिलोमा डण्डी उपलब्ध हुनुपर्ने हो ।

तर, त्यसो नभई किलोकै १०७ देखि ११० रुपैयाँसम्म बिक्रि भईरहेको छ ।

‘अहिले मूल्य घटेर आएको छ’

भन्सार विभागले अहिले आयात हुने ब्लेडको मूल्य घटेर आएको बताएको छ । विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार प्रति मेट्रिकटनमा आयात हुने ब्लेडको भाउ एभेजमा ५८ (५७.६१ रुपैयाँ प्रतिकिलो) रुपैयाँ प्रतिकिलोमा आयात भएको बताउँछन् । 

यो पनिः
निषेधाज्ञाकै बीचमा आकाशियो फलामे डण्डीको भाउ, सिमेन्टको मूल्य पनि बढ्दै

‘पौष माघमा ब्लेडको मूल्य अन्तराष्ट्रिय बजारबाटै बढेर आएको थियो तर, अहिले घटेको छ’ घिमिरे भन्छन्, ‘यसको मूल्य आयात हुँदै पिच्छे एउटै हुँदैन, बिहान १० बजे इन्ट्रि भएको मूल्य र दिउँसो २ बजे इन्ट्रि भएको मूल्य पनि फरक पर्न सक्छ, तर त्यति धेरै फरक पर्ने भन्ने होइन । कतिपय अवस्थामा क्वालिटी अनुसार पनि मूल्य फरक पर्ने हुन्छ । तर हामीले हेर्ने भनेको एभरेज प्राइज हो ।’

बजारमा तयारी डण्डीको भाउ किन बढेको छ भनेर अनुगमन गर्ने, कारण पत्ता लगाउने अरु नै निकाय भएकाले यसबारेमा आफूहरुलाई जानकारी नहुने भन्दै उनले ‘भन्सार विभागले ब्लेडको भाउ घटेर आएको छ है’ मात्रै भन्न सक्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved