

सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिंगे गैडा मरेपछि निर्माण व्यवसायीलाई आरोपित गरी कारबाही अगाडि बढाइएको भन्दै निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
निर्माण कम्पनी इन्डो—सगुन जे.भीबाट उक्त निर्माण कार्यका क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियम विपरित हुने कुनै पनि काम नभएको र निर्माण सम्झौता बमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाएको महासंघको दाबी छ ।
सडक डिभिजन कार्यालय भरतपुर अन्र्तगतको उक्त आयोजनाको निर्माण क्षेत्रमा गंैडाको प्राकृतिक आवतजावतको क्रममा भएको निधनको तथ्यलाई तोडमोड गरिएको महासंघको ठहर छ ।
‘तथ्य तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानुन विपरीत हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख—हैरानी दिने कार्यबाट विभिन्न बाधा अड्चनका बाबजुद भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीहरूको मनोबल गिराउने र निर्माण कार्यलाई अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको महासंघको ठहर छ’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्माण स्थलमा कङ्क्रिटको नाली बनाइसकेपछि पूर्ण रूपमा सेट हुनका लागि प्राविधिक रूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकोले नाली नपुरिएको र सम्झौता बमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्ड र उपायहरू अनुसरण गरी आयोजनाको नियमित सुपरिवेक्षण र निर्देशनमा निर्माण कार्य गरिरहेको अवस्थामा प्राकृतिक रूपमा घटना भएको तथ्य जगजाहेर हुँदाहुँदै निर्माण व्यवसायीलाई नियोजित रुपमा आरोपित गरी मानमर्दन गरिएको महासंघले जनाएको छ ।
यस घटनालाई लिएर निर्माण कम्पनी इन्डो–सगुन जे.भी.का प्रतिनिधि सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरी पक्राउ गर्ने लगायतका काम तत्काल रोक्न पनि महासंघले माग गरेको छ ।
घटनाको छानविन गर्न वन मन्त्रालयद्घारा गठित छानविन समितिमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत संलग्नता हुने गरी एक निष्पक्ष एव्म स्वतन्त्र छानविन समिति गठन गरी यस घटनाको विना कुनै पूर्वाग्रह सत्य तथ्य सार्वजनिक गर्न महासंघले माग गरेको छ ।