विदेशी मुद्राको सञ्चिति बढाउने आईडियाः विदेशीलाई अपार्टमेन्ट बिक्रि

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 21, 2022 | 01:18:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अहिले आर्थिक संकटको सन्निकटमा छ । विदेशी मुद्राको सञ्चिति क्रमशः घट्दो क्रममा देखिएको छ । अहिलेको संञ्चितिले ६ महिनाको बस्तु तथा आयात धान्न सक्ने मात्रै विदेशी मुद्रा सञ्चित छ । 

यस्तो अवस्थामा विदेशी मुद्राको सहज सञ्चिति हुने भन्दै उद्योगी व्यवसायीहरुले ‘गजब’को ‘आईडिया’ निकालेका छन् । त्यो हो, ‘विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट किन्न दिने’ ।

नेपाल उद्योग परिसंघले विदेशी मुद्राको सञ्चिति बढाउन र अहिलेको तरलता संकट व्यवस्थापन गर्न विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न अनुमति दिनुपर्ने सुझाव दिएको छ । विदेशीलाई संख्या र स्थान किटान गरी विदेशी मुद्रामा अपार्टमेन्ट किन्न दिनुपर्ने परिसंघका उपाध्यक्ष अनुज अग्रवालले बताएका छन् । 

अहिले जुनसुकै समयमा विदेशीले नेपाल आएर अपार्टमेन्ट किन्न सक्ने व्यवस्था गर्नुपर्ने र यसरी अपार्टमेन्ट खरिद गर्ने गैर नेपालीलाई दीर्घकालीन भिसा वा स्थायी बसोबासको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने परिसंघको सुझावको छ ।

‘विदेशी नागरिकलाई अपार्टमेन्ट किन्न दिएर दीर्घकालिन भिसा दिँदा उसले नेपालमा डलर खर्च गर्छ’ उपाध्यक्ष अग्रवालले भन्छन्, ‘यो व्यवस्था गर्न सकियो भने नेपालको समग्र अर्थतन्त्रकै लागि सकरात्मक कदम हुनेछ ।’

परिसंघले आयात रोकेर मात्रै दीर्घकालिन समाधान नहुने भन्दै विदेशी मुद्रा कमाउने दीगो र भरपर्दो स्रोत पहिचान गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएको छ । 

कहाँबाट ल्याउने विदेशीलाई बेच्न अपार्टमेन्ट ?

अहिले विदेशीलाई अपार्टमेन्ट किन्न दिनुपर्ने र यसबाट डलरको सञ्चिति बढ्ने भनिएपनि अहिले नेपालमा अपार्टमेन्टका युनिट छैनन् । तर,े विदेशी नागरिकलाई निश्चित मूल्यभन्दा माथिका अपार्टमेन्ट किन्न अनुमति दिने नीतिगत व्यवस्था गर्ने हो भने आफूहरु अहिले नै अपार्टमेन्ट परियोजनाहरु ल्याउन तयार रहेको जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज वाग्ले बताउँछन् ।

‘विदेशीलाई ३ करोडभन्दा बढी मूल्यको अपार्टमेन्ट किन्न दिने विषय यसअघि नै नीति तथा कार्यक्रममा आईसकेको विषय हो, तर कार्यान्वयन भएन’ वाग्ले भन्छन्, ‘यदि नीति तथा कार्यक्रम अनुसार कार्यान्वयन भएको भए नेपालको अपार्टमेन्ट सेक्टरमा अहिले नयाँ युग सुरु भइसकेको हुन्थ्यो ।’

विदेशीलाई अपार्टमेन्ट खरिदको अनुमति दिँदा उनीहरु आएर अपार्टमेन्ट खरिद गरेर बस्ने मात्रै नभई, नेपालीहरुमा समेत अपार्टमेन्टमा बस्ने ‘कल्चर’को विकास गराउन सहयोग गर्ने विश्वास वाग्लेको छ । भूकम्पपछि मानिसहरु अपार्टमेन्टमा बस्न डराउने गरेकाले बिक्रि नहुने जोखिम देखेर अहिले डेभलपर्सहरुले अपार्टमेन्ट परियोजना ल्याउन सकेका छैनन् । तर, विदेशीलाई किन्न दिने व्यवस्था हुने हो भने परियोजना ल्याउने दाबी विकासकर्ताहरुको छ 

‘नेपालमा इन्डियन धेरै आउँथे, अरु देशका नागरिहरु पनि नेपालमा आएर अपार्टमेन्ट किनेर बस्न रुचाउँछन्’ वाग्ले थप्छन्, ‘त्यसरी आएर उनीहरु बस्दा नेपालमा डलर खर्च गर्थे, उनीहरु नेपालमा लामो समय बस्न सक्थे, यसले पर्यटन पनि फस्टाउँथ्यो ।’ 

कति हुन्छ आम्दानी ?

परिसंघले पेश गरेको हिसाब अनुसार सन् २०२२ मा २ हजार युनिट अपार्टमेन्ट विदेशीलाई बेच्न सकियो भने ४ करोड अमेरिकी डलर नेपालमा भित्र्याउन सकिने अवस्था छ । 

यो संख्यालाई बढाउँदै २०२३ मा ३ हजार युनिट पुर्याउँदा ६ करोड डलर, २०२४ मा ४ हजार पुर्याउँदा ८ करोड डलर, सन् २०२५ मा ५ हजार युनिट अपार्टमेन्ट विदेशी नागरिकलाई बिक्री गर्दा १० करोड अमेरिकी डलर भित्र्याउन सकिने परिसंघले देखाएको हिसाबमा उल्लेख छ ।

विदेशमा नेपालीले अपार्टमेन्ट किनेर बस्न सक्ने व्यवस्था भएकाले नेपालमा पनि विदेशीलाई अपार्टमेन्ट किनेर बस्न दिँदा कुनै घाटा नहुने दाबी परिसंघका पदाधिकारी र आवास विकासकर्ताहरुको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved