कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा नौ वर्षदेखि अधुरो पुल, स्थानीयको दुःख कहिलेसम्म ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2025 | 06:26:33 AM मा प्रकाशित

कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरो रहेको छ । २०७१ मङ्सिरमा सुरु भएको यो आयोजना ठेकेदारको लापरवाही र सरकारी निकायको कमजोरीका कारण अलपत्र परेको हो । सम्झौताअनुसार २०७३ सालमै सकिनुपर्ने पुल अहिले १० प्रतिशत मात्र निर्माण भएको छ ।

पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको लागत रु ६ करोड १३ लाख रहेको छ । तर अहिलेसम्म रु १ करोड ५० लाख मात्र भुक्तानी भएको छ । पुल निर्माणको जिम्मा लिएको सञ्जीवनी निर्माण कम्पनीले २९ महिनामा काम सक्ने प्रतिबद्धता जनाएको थियो, तर अहिलेसम्म अलपत्र परेको छ ।

२०७२ सालमा सडक डिभिजन कार्यालय बागलुङले ठेक्का सम्झौता गरे पनि अहिले पोखरास्थित सडक डिभिजन कार्यालयले जिम्मेवारी सम्हालेको छ । पटकपटक दबाब दिँदा पनि निर्माण कार्यले गति नलिएको स्थानीय बताउँछन् । 

“धेरैपटक सरकारलाई गुहार्यौं, बल्ल केही काम सुरु भएको छ । तर निर्धारित म्यादमै पुल सकिन्छ भन्ने विश्वास छैन,” स्थानीय राजेन्द्र खड्काले भने ।

सडक डिभिजन कार्यालय पोखराले निर्माण व्यवसायीलाई असार मसान्तसम्म म्याद थपेर तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर धु्रव पोखरेलका अनुसार अहिले पुल निर्माणको काम भइरहेको छ ।

स्थानीय तह गठन हुनुअघि सुरु भएको यो आयोजनाले स्थानीयलाई ठुलो सास्ती दिएको छ । मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माका अनुसार निर्माण व्यवसायीले सरकारी निर्देशन पटकपटक अटेर गर्दा पुल अलपत्र परेको हो । संघीय सांसद, प्रदेश सांसद र सम्बन्धित निकायले चासो देखाए पनि ठेकेदारले लापरवाही गरेको आरोप स्थानीयले लगाएका छन् ।

यसैबीच, राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र प्रदेशसभा सदस्य भक्त कुँवरले पुल निर्माणस्थलको स्थलगत अनुगमन गरेका छन् । तर, नौ वर्षसम्म निर्माण नहुने पुल अब तोकिएको समयमा पूरा हुन्छ कि फेरि अर्को म्याद थपिन्छ भन्ने विषयमा स्थानीय सशंकित छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved