बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट र नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा राजधानीमा एक दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी मङ्सिर ४ गते पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा सम्मलेन हुन् लागेको हो ।
सम्मलेनमा नेपालमा लघुवित्त संस्थाहरुले पुर्याएको योगदान तथा देखिएका चुनौतीहरु बारे छलफल हुने छ । साथै बंगलादेशका लघुवित्त संस्थाहरुको अनुभव र लघुवित्तबाट बाणिज्य बैंकका रुपमा परिणत भएको भारतको बन्धन बैंकको अनुभव सम्मलेनमा आदान प्रदान हुने आयोजकले जनाएको छ । यी अनुभवबाट नेपालका लघुवित्तले कस्तो बिषयहरुमा कार्वान्वयन ल्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुने छ । यस सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लघुवित्तका संचालकहरु, प्रमुखहरु र कर्मचारीहरुको ज्ञान बृद्धि गर्नमा योगदान पुग्ने विश्वास गरिएको छ ।
सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गर्ने छन् । सम्मेलनमा बंगलादेशको ढाका विश्वविद्यालयका प्रोफेसर तथा त्यहाँको केन्द्रीय बैंकका पुर्व गभर्नर डा. अतिउर रहमानले 'लघुवित्तको बदलिदो परिदृश्य: बंगलादेशबाट के सिक्ने' भन्ने विषयमा प्रस्तुति दिने छन् । उक्त सत्रको अध्यक्षता भारतको बन्धन बैंकका प्रबन्ध निर्देशक चन्द्र शेखर घोसले गर्ने छन् । त्यस्तै सम्मलेनमा नेपाल राष्ट्र बैंकका लघुवित्त हेर्ने कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले लघुवित्तको भविष्यबारे प्रस्तुति दिने छन् ।
यी बाहेक अन्य विज्ञ सदस्यबाट लघुवित्तको चुनौती, भविष्य, र अवसरका विषयमा अन्य सत्र पनि संचालन हुने छन् । यस सम्मेलनमा १५० जना सहभागीहरुले भाग लिने अपेक्षा गरिएको छ।