
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कैलाली जिल्लाको लम्किचुहा–८, बचैला स्थित श्री कालिका प्राथमिक विद्यालयमा शैक्षिक सामग्री सहयोगार्थ पचास हजार रुपैयाँ प्रदान गरेको छ ।
विद्यालयको प्राङ्गणमा बालबालिकाको प्रतिभा प्रस्फुटन मंचको समुद्घाटन तथा नव बर्षको शुभकामना आदानप्रदान कार्यक्रमका बीच वित्तीय संस्थाका प्रतिनिधिले सहयोग स्वरुपको रकम बराबरको चेक विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालयको भवन निर्माणमा वित्तीय संस्थाले पुर्याएको सहयोगको स्मरण गर्दै विद्यालयका प्रधानाध्यापक गोपाल बि.क. ले बोहराप्रति विद्यालय परिवार कृतज्ञ रहेको बताउदै धन्यवाद दिए ।
कार्यक्रममा मिर्मिरे लघुवित्तका क्षेत्रिय प्रबन्धक वेदप्रकाश आचार्यले नव निर्मित मंचको समुद्घाटन गर्नुका साथै सहयोग राशिको चेक हस्तान्तरण गर्दै मिर्मिरे लघुवित्तको देशभर सातै प्रदेशमा उपस्थिति रहेको र वित्तीय संस्थाले विपन्न वर्गको सर्वोपरी हितमा कार्य गर्दै आएको बताए । उनले राजधानीमा भब्य दरबार हाइस्कुल बनिसकेको परिप्रेक्षमा कैलालीको बचैलामा गिट्टी बालुवा चालेर जीवन यापन गरिरहेका अतिविपन्न अविभावकको बालबालिका पढ्ने विद्यालय तर्फ ध्यान पुर्याउन किन नसकेको होला भन्दै नसकेकोमा स्थानीय सरकार तथा जनप्रतिनीधिको ध्यानाकर्षण गराएका थिए ।
विद्यालयको न्युनतम भौतिक पूर्वाधार निर्माणमा गहकिलो बजेट व्यवस्थापन गरिदिन स्थानीय निकायलाई अपिल समेत गर्दै आचार्यले यस लघुवित्तले दर्जनौ असहाय सडक मानवको सेवामा बर्षेनी देशभर विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न गर्दै आएको र आगामी दिनहरुमा ‘एक घर–एक मिर्मिरे सदस्य’ अभियान मार्फत सेवा प्रवाह गर्ने वित्तीय संस्थाको योजना रहेको बताए ।
यस वित्तीय संस्थाले देशभर १ सय ४८ शाखा मार्फत सेवा प्रवाह गरिहेको छ ।