
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ९, कालिकापथ स्थित होटल न्यू ईरामा सम्पन्न भएको हो ।
उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७६/०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु ७ करोड ९२ लाखको २.६० प्रतिशतले हुन आउने रकम रु.२० लाख ५९ हजार २ सय नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने, आ.व. २०७६/०७७ को आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु.७ करोड ९२ लाखको ४९.४० प्रतिशतले हुने रकम रु ३ करोड ९१ लाख २४ हजार ८ सय बरावरको बोनस शेयर जारी गर्ने, संस्थाको अधिकृत पूँजी रु १५ करोडबाट बृद्धि गरी रु ५० करोड पु¥याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लावाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित भएको थियो ।
यस संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष डा. मान बहादुर बीकेले वित्तीय संस्थालाई कोरोना भाईरस कोभिड–१९ ले पारेको प्रभावलाई न्यूनीकरण गर्न नयाँ खालको रणनीति तयार गरी संस्थाका हरेक गतिविधिहरुलाई स्केलिङ्ग गरेर लग्नु पर्ने विषयमा सुझाव दिएका थिए ।
सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले संस्थालाई यस विषम परिस्थितीमा स्वास्थ्य सर्तकता अपनाउदै, संस्थाको अल्पकालिन तथा दीर्घकालीन रणनीतिहरु तयार पारी कार्यन्वयन गराउदै संस्थालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुका साथै सभामा उपस्थित हुने सम्पूर्ण शेयरधनीहरुलाई धन्यवाद दिएका थिए ।