राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले समेत नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण प्रकाशन गर्नु पर्ने भएको छ। राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘घ’ वर्गको लघु वित्त वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै यस्तो ब्यबस्था गरेको हो ।
जस अनुसार राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०७९ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार समेत समानान्तररुपमा तयार गर्नु पर्नेछ ।
साथै थोक कर्जा कारोवार गर्ने र सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुले २०७८ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार समेत समानान्तररुपमा तयार गर्नु पर्नेछ ।
त्यस्तै लघुवित्तहरु मर्जमा गएर १ अर्ब भन्दा चुक्ता पुंजी कायम गरेमा राष्ट्र बैंकले विभिन्न सहुलियत दिने भएको छ । जस अनुसार ‘घ’ वर्गको लघु वित्त वित्तीय गाभिएर वा प्राप्ति गरेर रु १ अर्बभन्दा बढी चुक्ता पूँजी कायम गरेमा वा रु १ अर्बभन्दा बढी चुक्ता पूँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा २ वटा प्रदेश स्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा काठमाडौं उपत्यका भित्र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न स्वीकृति प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।