मुद्धती निक्षेप र शेयरमा लघुवित्तको लगानी घट्यो, पुँजीकोषको स्थिति सन्तोषजनक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 05:30:55 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनले लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको देखाएको हो । 

प्रतिवेदन अनुसार २०७८ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी रु. ९ अर्ब ९१ करोड पुगेको छ, जुन २०७८ असार मसान्तको तुलनामा ३२.६१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो । विशेषगरी मुद्धती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ ।

लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०७८ पुससम्म रु. ८ अर्व २७ करोड राखेका छन् जुन रकम २०७८ असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ६२.२१ प्रतिशतले बढेको थियो । लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्धती निक्षेपमा गरेको लगानी र शेयर तथा डिबेन्चरमा गरेको लगानी घटेको देखिन्छ ।

प्रतिवेदन अनुसार थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासको तुलनामा वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८÷७९ को दोस्रोत्रयमाससम्ममा ब्याज आम्दानी रु. २ अर्ब ३४ करोड र  ब्याज खर्च रु. १ अर्ब २० करोड रहेको छ । समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुले रु.८२ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासको तुलनामा ४९.८१ प्रतिशतले बढी हो ।

समग्रमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासको तुलनामा वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रयमाससम्ममा खुद मुनाफा रु. ४ अर्ब ६१ करोड रहेकोमा २७.७३ प्रतिशतले वृद्वि भई यस आर्थिक वर्षको सोही अवधिमा खुद मुनाफा ५ अर्ब ८९ करोड पुगेको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रयमाससम्ममा ब्याज आम्दानी रु. २५ अर्ब ८२ करोड र ब्याज खर्च रु. १२ अर्ब रहेको छ। यस अवधिमा सञ्चालित ६३ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये २ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ ।

लघुवित्त वित्तीय संस्थाहरुको पुँजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन– २०७८ को निर्देशन नं. १ अनुसार लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ । २०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.२८ प्रतिशत र १२.४३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी २०७८ असार मसान्तको तुलनामा १६.५७ प्रतिशतले र जोखिम भारित सम्पति १५.६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः ८.२६ प्रतिशत र २१.९५ प्रतिशतले बढेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved