‘साना किसान सवल भए मात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 04:47:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । 

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सवल बनाउनुपर्नेमा जोड दिएका हुन । 

कार्यक्रममा पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले गरिवी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पुरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याए । उनले किसानहरुलाई उत्पादनसंगै उत्पादित वस्तुहरुको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताए । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले साना किसानहरुलाई उद्यमसंग जोड्नुपर्ने बताए । 

नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै उनले यसका लाभग्राही साना किसानहरु नै रहेको बताए । सचिव पोखरेलले उत्पादित कच्चा पदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताए । 

कार्यक्रममा साना किसान विकास लघुवित्तका अध्यक्ष खेम बहादुर पाठकले नेपालका दुरदराजका गरिब किसानहरुको जीवन रुपान्तरणमा विगत २१ वर्षदेखी निरन्तर काम गर्दै आएको बताए । ग्रामिण क्षेत्रमा साना किसानहरुले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एक मात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भएको दाबी गरे । 

पूर्वमेची देखी पश्चिम महाकालीसम्मका साना किसानहरुमा पूँजीको पहुँच वृद्धिसंगै उत्पादनमा पनि सन्तोषजनक प्रगति भएको भन्दै अध्यक्ष पाठकले राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाती, महिला लगायतलाई सूसुचित गरी उत्पादनमा संलग्न गराउँदै राज्यको मुलधारमा ल्याउन सफल भएको बताए । 

साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईरालाले नेपालको गरिवी निवारणमा यस लघुवित्तले अग्रणी भूमिका निर्वाह गरेको बताए । 

साना किसान विकास आयोजनाका रुपमा वि.स. २०३२ सालदेखी कृषि विकास बैंकमार्फत सुरु भएको साना किसान विकास कार्यक्रम २०५८ सालमा साना किसान विकास बैंकका रुपमा स्थापना भएको थियो । 

अहिले लघुवित्त वित्तीय संस्थाका रुपमा साना किसान सहकारीहरुलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा १ हजार २९१ वटा सहकारी संस्थाको संस्थागत सहभागिता रहेको छ । यस वित्तीय संस्थाको सेवा ७६ जिल्लाका ५४० स्थानीयतहसम्म पुगेको छ । 

१० लाख भन्दा बढि घरपरिवारमा ८१ अर्बको कारोवार रहेको अहिलेको अवस्थामा सहकारीहरुमा ७९ प्रतिशत महिला सहभागिता रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved