
सबै लघुवित्त संस्थाले सहायक आवधिक ऋणपत्र (Subordinated Term Debt) जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन जारी गर्दै सबै लघुवित्त संस्थाले सहायक आवधिक ऋणपत्र (Subordinated Term Debt) जारी गर्न सक्ने ब्यबस्था गरेको हो । मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले आज निर्देशन जारी गरेको हो ।
जस अनुसार अब लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र (Subordinated Term Debt) जारी गर्न सक्ने छन् । सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले प्राथमिक पुँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र (Subordinated Term Debt) जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्न सक्नेछन्।
यस अघि थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले मात्र सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने ब्यबस्था थियो । अब सबैले पाउने भएका हुन् । त्यस्तै यस अघि लघुवित्त वित्तीय संस्थाले प्राथमिक पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने ब्यबस्था रहेकोमा अब प्राथमिक पुँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने भएका हुन् ।