
सुपर लघुवित्तका निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मधुसुदन निरौलाले पदबाट राजिनामा दिएका छन् । उनले आज साउन २० गते संचालक समितिमा राजिनामा पत्र पेश गरेका छन् ।
उनले विशेष घरायसी कारणले गर्दा कार्यालयमा समय दिन नसक्ने भएको र अवकाश लिने निर्णय गरेकोले संस्थाको कुनै पनि पदमा बहाल नरहने गरि राजिनामा दिएका हुन् । उनले संस्थाको नियम अनुसार १ महिनाको समय राखेर भदौ २० गतेबाट लागु हुने गरि राजिनामा स्वीकृतिको लागि पेश गरेका हुन् ।
सुपर लघुवित्तमा घोटाला भएपछि प्रहरीले कम्पनीका कामु सीईओ बुद्धिराम चौधरीलाई पक्राउ गरेको हो । कामु सीइओ पक्राउ परेपछि कम्पनीले जेठ २७ बाट लागु हुने गरि त्यस समय कम्पनीमा बरिष्ठ कर्मचारी रहेका निरौलालाई कम्पनी सचिव र निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
तर चौधरी रिहा भएर आएपछि निरौलाले राजिनामा दिएका हुन् ।
लघुवित्त वित्तीय संस्थाको मान्यता पाउनु अगाडि अर्थात नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबारको अनुमति पाउँदा नै नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरिएको अनुसन्धानको क्रममा खुलेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सीमित बैंकिङ कारोबारको अनुमति पाएपछि नै सुपर लघुवित्तमा यस्तो घोटाला भएको र घोटालाकै बीचमा उक्त संस्थाले २०७६ सालमा लघुवित्त वित्तीय संस्थाको रुपमा अनुमति पाएको हो ।
संस्थाका अध्यक्ष सहित अन्य जिम्मेवार व्यक्ति अझै फरार छन् ।
यस अघि : चुक्ता पूँजी २ करोड रहेको सुपर लघुवित्तमा २२ करोडको ‘सुपर’ घोटाला