राष्ट्र बैंकद्वारा २ वटा लघुवित्तलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 06:49:01 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले २ वटा लघुवित्त कम्पनीलाई कारवाही गरेको छ। राष्ट्र बैंकले गरेको गैर स्थलगत सुपरिवेक्षणको क्रममा राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम नगरेकोले राष्ट्र बैंकले ति कम्पनीलाई कारवाही गरेको हो ।

 लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असार मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा बुद्धज्योति लघुवित्त वित्तीय संस्था लि. र सुपर लघुवित्त वित्तीय संस्था लि. को पुँजीकोष ८ प्रतिशत भन्दा कम रहेको राष्ट्र बैंकले जनाएको छ। दुवै संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमको कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बाँकी अन्य सबै लघुवित्त वित्तीय संस्थाहरूले पुंँजीकोष सम्बन्धीे निर्देशनको पालना गरेको देखिन्छ ।

त्यस्तै अघिल्लो त्रयमासमा कायम रहेको प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत संकलन गर्न पाउने विद्यमान व्यवस्था रहेकोमा २०७९ असार मसान्तमा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरूले सो निर्देशनको पालना गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ  ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाले असल र सुक्ष्म निगरानी कर्जाका लागि क्रमश १.३ प्रतिशत र ५ प्रतिशत तथा बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेका छन् । त्यस्तै २०७९ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाले निष्क्रिय कर्जा लाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमश २५, ५० र १०० प्रतिशत तथा बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात २.२९ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

सुपरिवेक्षणको क्रममा  निम्न अवस्था भेटिएको राष्ट्र बैंकले जनाएको छ ।

१. लघुवित्त वित्तीय संस्थाहरुले आफूले प्रदान गरेको कुल कर्जाको एक–तिहाईमा नबढ्ने गरी धितो लिई लघु उद्यम कर्जा प्रदान गर्नसक्नेव्यवस्था रहेकोमा आर्थिक वर्ष २०७९ असार मसान्तमा धितो कर्जा कुल कर्जाको १८.२० प्रतिशत रहेको देखिन्छ । 

२. यस बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुले कुल बचत दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असार मसान्तमा सबै लघुवित्त वित्तीय संस्थाहरुले सो निर्देशनकोपालना गरेको देखिन्छ । 

३. यस बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७८ अनुसार सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो कुल बचत दायित्वको २.५ प्रतिशत तरल सम्पत्ति अनुपात तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो कुल बचत तथा निक्षेप दायित्वको ४ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असार मसान्तमा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुले सो व्यवस्थाको पालना गरेको देखिन्छ । 

४. राष्ट्र बैंकबाट जारी भएको निर्देशन नं. ९ बमोजिम वित्तीय विवरणहरु यस बैंकमा पठाउनु पर्ने व्यवस्थाको सम्बन्धमा २०७९ असार मसान्तसम्ममा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुले आवश्यक कागजात तथा वित्तीय विवरणहरु पठाइरहेको देखिन्छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved