लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले सेवा प्रवाहको लागि उपयुक्त वातावरण बनाईदिन माग गरेको छ। कर्मचारीमाथि सांघातिक आक्रमण गरि गम्भिर चोट पुऱ्याएपछि संघले सेवा प्रवाहको वातावरण बनाईदिन आग्रह गरेको हो ।
विगत लामो समय देखि लघुवित्त विरुद्धमा केहि समूहले लघुवित्तको कारोबारलाई बाधा पुऱ्याउने, कर्मचारीहरुलाई धम्कि दिने र अनावश्यक आक्षेप लगाउने गरेको संघले जनाएको छ । कार्तिक २४ गतेका दिन दाङ्ग जिल्लामा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु विगत ८ महिना देखि रोकिएको किस्ता असुलीका लागि जांदा ग्राहक सदस्यले आफ्नो घर तथा समूह सदस्य बाहिरको व्यक्तिहरुलाई बोलाई वित्तीय संस्थाका केही कर्मचारीहरु माथि सांघातिक आक्रमण गरि गम्भिर चोट पुऱ्याएकोमा संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्ता अवाञ्छित गतिविधिले ग्राहकहरु तथा विपन्न वर्गले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट वञ्चित हुन पुगेको संघले उल्लेख गरेको छ । साथै ऐन, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा संघले खेद प्रकट गरेको छ। यस्ता अनाधिकृत गतिविधिहरुलाई तत्काल रोक्न सम्बद्ध पक्षलाई संघले अनुरोध गरेको छ।
यस प्रकारका अवाञ्छित गतिविधिहरुलाई तत्काल नियन्त्रण गरि अत्यावश्यक सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा सञ्चालनमा रहने वातावरणको लागि सहयोग पुर्याईदिन संघले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, स्थानीय सरकार तथा सम्बन्धित अन्य निकायहरुलाई अनुरोध गरेको हो।
ग्राहक र संस्थाको बिचमा सुमधुर सम्बन्ध कायम गरी ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरु सदैव दृढ रहेको संघले जनाएको छ। साथै यस्ता किसिमका घटनाहरुबाट कत्ति पनि विचलित नभई आगामी दिनमा पनि निरन्तर रुपमा ग्राहक सदस्यहरुलाई अझ उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि संघले व्यक्त गरेको छ।