
नेपाल लघुवित्त बैंकर्स संघले धादिङमा क्रिक रिसोर्टमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। लघुवित्त वैकर्स संघका महासचिव रामबहादुर यादवको सभापतित्व तथा धादिङ क्षेत्र नं. २ का संघीय सासंद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको संघले जनाएको छ ।
संघका अनुसार कार्यक्रममा विभिन्न लघुवित्त संस्थाहरुमा आवद्ध ३०० जना सदस्यहरुको उपस्थिति थियो। देशका ७७ वटै जिल्लामा वित्तीय सारक्षता कार्यक्रम गर्ने योजना अनुरुप संघको आयोजनामा कार्यक्रम गरिएको संघले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रामनाथ अधिकारीले लघुवित्त संस्थाहरुले महिला दिदीवहिनीहरुलाई परनिर्भरतावाट छुटकारा दिएको र गाउगाउमा गई महिला दिदीबहिनीहरुलाई समुहमा आवद्ध गराई कार्यक्रम सन्चालन गर्ने भएकाले यसको उदेश्य राम्रो भएको बताए । साथै उनले कर्जा लिई सके पछि तिर्नै पर्ने र कुनै पनि सरकार वा निकायले मिनाहा गर्न नसक्ने व्यहोरा स्पष्ट पारे ।
नेपाल लघुवित्त बैंकर्स संघका तर्फवाट महासचिव रामबहादुर यादवले लघुवित्तको उदेश्य पवित्र रहेको र कहि कतै सुधार गर्नुपर्ने भए छलफल गरि सुधार गर्न तयार रहेको बताए । साथै देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको लघुवित्त क्षेत्रलाई सबै मिलेर अगाडी वढाउनु पर्ने आवश्यकता रहेको र लघुवित्तका माध्यमले उद्यमशिलता विकास गरि विदेशमा रहेका दाजुभाईलाई पनि नेपालमै रोजगारीको अवसर प्रदान गरि भित्राउनु पर्ने उनले बताए ।
कार्यक्रममा सघर्ष समितिका महासचिव प्रेम वि.क.ले लघुवित्तमा केहि समस्या रहेको र त्यही सुधार गर्नका लागी आफुहरुले १२ बुँदे सम्झौता गरेको बताए। साथै उनले १२ बुँदे सहमति पनि महिला दिदीवहिनीहरुको हकहितमा रहेकोले त्यसलाई अक्षरस पालना गर्नुपर्ने बताए । हाल देखिएको समस्याको समाधान सडकवाट नभई संवाद र छलफलवाट समाधान गर्नु पर्ने उनको भनाई थियो ।
उक्त कार्यक्रममा महिला सदस्यहरुले आफ्ना सफलताका कथा सुनाउंदै लघुवित्तले महिलालाई विश्वास गर्नाले नै आज व्यापार व्यवसाय तथा उद्यम गर्न सफल भई जिवनमा परिवर्तन ल्याएको अनुभव सुनाएको संघले जनाएको छ ।
उक्त कार्यक्रममा वित्तिय साक्षरता अन्तर्गत कर्जाको सहि सदुपयोगीता तथा व्यवस्थापन, बहु बैंकिङबाट परेको असर र सोको उपाय, लघु उद्यम विकास तालिम, ग्राहकको जेहेन्दार बालवच्चालाई छात्रवृति प्रदान, उत्पादन वृद्धिका लागी प्राविधिक सहयोग तथा बजार व्यवस्थापन, समुहलाई सुदृढ वनाउनु पर्ने, कर्जा अनुशासन, सामाजिक कृयाकलाप, ग्राहकको हकहितका लागी थप सेवा सुविधाका लागी सुझाव सल्लाह र समग्र रुपमा लघुवित्त क्षेत्रलाई आर्थिक तथा सामाजिक रुपान्तरणका लागी सुदृढ वनाउनु पर्ने विषयमा छलफल भएको संघले जनाएको छ।