लघुवित्तप्रति राष्ट्र बैंकले तेर्सायो औँला, यसो भन्छ बैंकर्स संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2023 | 10:21:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामाथि औँल्या तेर्साउँदै सच्चिन भनेको छ । लुघुवित्तहरुको संस्था लघुवित्त बैंकर्स संघको एक कार्यक्रममा बोलाइएका बैंकका अधिकारीहरुले संस्थाप्रति नै औँला ठड्याउँदै वित्तीय सुशासनतर्फ सचेत पनि गराए । 

राष्ट्र बैंकका डेपुडी गभर्नर तथा विभिन्न शाखा उपशाखा हेर्ने कार्यकारी निर्देशकहरुले वित्तीय संस्थाले ग्रामिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दागर्दै पनि नाफा कमाउने ध्यानमा लाग्दा जोखिम बढ्दै गएको औँल्याएका छन् । बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले नक्कली ऋणी बढ्दै गएकाले हस्तक्षप गर्नुपर्ने अबस्था आएको बताइन् । 

सङ्घको १६औँ वार्षिक साधारणसभामा आज राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले ऋण लिएपछि पैसा तिर्दिन भन्नु आर्थिक अपराध भएको उल्लेख गर्दै यो अबस्था आउनुमा बैंक तथा वित्तीय संस्थाहरु पनि दोषी रहेको उल्लेख गरे । ‘आफ्ना सेवा, सुविधा तथा अनुशासनमा गिरावट आएको छ, हाम्रो पनि कमजोरी छ सुधारौँ’, उनले भने । 

उनले लघुवित्तमा जोखिम बढिरहेकाले ग्राहकको सुरक्षामा ध्यान दिन पनि सुझाव दिए । मुनाफा कमाउने होडले माइक्रो माइक्रोफाइनान्सको  उद्योग अघि बढ्न नसक्ने उनले बताए । उनले भने, ‘९६ लाखसम्म व्यक्तिबाट डिपोजिट संकलन गरिएको छ, त्यो फाइनान्सले गर्ने हो ?’

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले लघुवित्तले गरिबी निवारण, वित्तीय पहुँचमा महत्वपूर्ण भूमिका खेल्दाखेल्दै पनि बजार नहेरेर कर्जा प्रवाह गर्दा समस्या बल्झिएको बताए ।

के भन्छन् बैंकर्स संघका अधिकारी ?

नेपाल लघुवित्त बैंकर्स सङ्घका महासचिव रामबहादुर यादव गरिबले संस्थागत कर्जा प्राप्त गरेकाले आर्थिक रुपान्तरणमा लघुवित्तको ठुलो भूमिकालाई विर्सन नहुने बताउँछन्।  उनले महिला शशक्तिकरण र आर्थिक रुपान्तरणमा लघुवित्तको योगदान ठुलो रहेकाले सरकारले उनीहरुको योगदानलाई भूल्न नहुने बताए ।  अहिले ४० देखि ५० प्रतिशत लघुवित्तहरु माइनसमा जाने अबस्स्थ आइसकेकाले त्यसतर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्नेमा उनको जोड थियो । 

उनले बेस रेट समायोजन गर्न जरुरी रहेको पनि उल्लेख गरे । संघका सदस्य विनोद आचार्यले लगानी भएको कर्जा असुलीमा समस्या रहेको स्वीकार गर्दै लघुवित्तले समाजमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

संघका पूर्व अध्यक्ष रामचन्द्र जोशीले लघुवित्तहरु घाटामा गएको विषयलाई तत्काल सम्बोधन गर्न माग गरे ।

संघका हालका अध्यक्ष प्रकाशराज शर्माले विविध चुनौतीका बीच लघुवित्त वित्तीय संस्थाहरुले गरिब, विपन्न वर्गमा वित्तीय पहुँच, महिला सशक्तिकरण तथा विपन्न वर्गको आयआर्जनमा सहयोग गरी गरिबी न्युनिकरणमा योगदान दिएको कुरालाई भुल्न नहुनेमा जोड दिए । 

समारोहमा नेपाल वैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याज नतिर्ने र दबाव दिने क्रम बढिरहेकाले यसले कालान्तरमा समस्या ल्याउनेतर्फ ध्यानाकर्षण गराए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved