कर्जा तिर्न सक्ने र नसक्ने लघुवित्तका ऋणीको पहिचान हुँदै, गाउँ गाउँ पुग्यो टोली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2023 | 02:47:54 PM मा प्रकाशित

लघुवित्तमा देखिएको समस्या समाधानका हेतु नेपाल राष्ट्र बैंकको निर्देशनमा लघुवित्त कम्पनी नयाँ रणनीतिका साथ अघि बढेका छन् । लघुवित्तकर्मीहरु अहिले लघुवित्तमा देखिएका समस्या समाधानको विषयमा प्रतिवेदन तयार पार्ने गरी अध्ययन कमिटी गठन गरेरै काम अघि बढाउन लागिएको छ । त्यसका लागि पहिलो चरणमा वास्तविक ऋण तिर्न सक्ने र नसक्ने ऋणीको सूची तयार पार्न थालिएको छ ।

लघुवित्तका ऋणीहरुको अवस्थालाई हेरेर ऋण तिर्न नसक्नेलाई कसरी तिर्न सक्ने बनाउन सकिन्छ भनेर सामुहिक प्रतिवेदन तयार पार्न लागिएको लघुवित्त बैंकर्स सङ्घले जनाएको छ। 

नेपाल लघुवित्त बैंकर्स सङ्घको नेतृत्वमा चैतको पहिलो हप्तासम्म ऋणीहरुको ऋण रकम र व्यावसायिक अवस्थाको तथ्याङ्क तथा विवरण सङ्कलन गरिने छ । कम्पनीहरुले आ–आफ्ना शाखाहरु तथा कर्मचारीहरुमार्फत विवरण सङ्कलन थालिसकेका छन् । संघका अनुसार लघुवित्तका शाखाहरुमार्फत परिचालित कर्मचारीहरु मार्फत नै ऋणीहरुको व्यावसायीक अवस्था बारेमा विवरण संकलन गरिने छ।

लघुवित्तका ऋणीहरु कसले कति कर्जा लगेका छन् ? कर्जाको सदुपयोग गरेका छन् वा छैनन् ? व्यावसायमा के कस्ता कठिनाइ छन् ? समयमा नै कर्जा चुक्ता गर्न सक्ने अवस्था छ वा छैन ? समस्यामा भएका ऋणी के कारणले गर्दा समस्यामा छन् ? आदि तथ्याङ्क सङ्कलन भइरहेको लघुवित्त बैंकर्स सङ्ंघका अध्यक्ष प्रकाशराज शर्माले बताए । उक्त तथ्याङ्कपछि राष्ट्र बैंक र लघुवित्तकमीहरुको समन्वयनमा एक समितिमार्फत समाधानको बारेमा केही निचोर्ड निकालिने छ । 

अध्यक्ष शर्माले के कस्ता ऋणलाई समस्याग्रस्त घोषित गर्ने, कस्तो किसिमका समस्या परेका ऋणीलाई कसरी सम्बोधन गर्ने विषयमा एउटै धारणा बनाउन लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुबीच छलफल समेत आयोजना गर्न लागिएको बताए । 

‘कम्पनीहरुले आ–आफ्नो प्रवाहित कर्जा तथा ऋणीको तथ्याङ्क सङ्कलन गर्दैछन् । त्यसपछि समस्यालाई कसरी वर्गीकरण गर्ने, कस्ता कर्जा तथा ऋणीलाई कुन समस्याको वर्गमा राख्ने, कुन वर्गका समस्यामा रहेका ऋणीलाई के–कसरी समस्याबाट बाहिर लिन सकिन्छ भनी छलफल गर्ने तयारी छ’, उनले भने, ‘तथ्याङ्क सङ्कलन भइसकेपछि राष्ट्र बैंकलाई पनि बुझाउने छौँ, राष्ट्र बैंकले पनि केही निर्देशित गर्नेछ ।’ 

नेपाल राष्ट्र बैंकका लघुवित्त संस्थाका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले परिस्तिथिजन्य कारणले मर्कामा परेर व्यवसायमा असफल भएका तथा रोगका कारण आयआर्जनमा संलग्न हुन नसकेका ऋणीको तथ्याङ्क सङ्कलन गर्नलाई राष्ट्र बैंकले समय दिएको र उक्त तथ्याङ्क आइसकेपछि समाधानको प्रक्रिया अगाडि बढ्ने बताए। लघुवित्तमा देखिएको विद्यमान समस्या समाधानको उपाय खोज्न विज्ञसहितको समिति गठन गर्ने र उक्त समितिले अध्ययन गरेर बुझाएको प्रतिवेदनका आधारमा आवश्यकता अनुसार राष्ट्र बैंकले निर्देशन परिमार्जनमार्फत अहिले लघुवित्तमा देखिएका समस्या समाधान गर्ने उनले दाबी गरे । 

‘संस्थाले कुनै कर्जा डुब्न सक्छ भनेर कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभजनिङ), ग्राहक संरक्षण कोष, संस्थागत सामाजिक उत्तरदायित्व, अनुशासन कायम गर्ने प्रयोजनले सङ्कलन गरेको केन्द्रिय कोषलगायतका कोषबाट केही व्यवस्था गर्न सकिनेतर्फ पनि राष्ट्र बैँकले विचार गर्नेछ’, उनले भने, ‘राष्ट्र बैंकले निर्देशनमार्फत केही व्यवस्था गर्नुपर्ने देखिएमा त्यसको सम्बोधन पनि गरिने छ ।’

 निर्देशक नेपालले लघुवित्त विरुद्धको आन्दोलनबारे समेत अध्ययन गरिरहेको बताउँदै ऋण तिर्न नसक्ने ऋणीहरुलाई के कसरी ऋण तिर्न सक्ने बनाउन सकिन्छ भन्ने विषयमा निचोड ल्याउने बताए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved