
लघुवित्त विरोधी आन्दोलनमा दुर्गा प्रसाईको कुनै संलग्नता नरहेको ‘लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति’ जनाएको छ । संघर्ष समितिले आफूहरुको आन्दोलनमा टेकेर राज्यमाथि नै धावा बोल्ने काम भएको भन्दै प्रसाईको अभियानमा आफूहरु संलग्न नरहेको र आफूहरुको आन्दोलनमा पनि प्रसाईको कुनै भूमीका नरहने जनाएको हो ।
‘हाम्रो आन्दोलनबाट अतालिएर केही शक्ति र समूहहरुले आन्दोलनको मर्म र भावना विपरित हाम्रो कांधमा टेकेर राज्य सत्ता विरुद्ध नै धावा बोल्ने कोशिस गरेको महशुस भएको छ’ संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रो आन्दोलन प्रति जिम्मेवार र प्रतिवद्ध रहंदै आन्दोलनको निकास यहि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था (नेपालको संविधान २०७२) अन्तर्गत रहेर निकाल्नुपर्छ भन्ने मान्यताद्धारा सुरु गरिएको आन्दोलन भएकाले यस आन्दोलनलाई यथाशक्य छिटो निकास दिनुपर्छ भनि विकल्प सहितको आन्दोलन घोषणा गरिसकेका छौं ।’
तर, फाल्गुण ३० गतेको आन्दोलनलाई नैतिक समर्थन गरेकै आधारमा लघुवित्त विरोधी आन्दोलन दुर्गा प्रसाईको आन्दोलन भएको भन्दै गरिएको प्रचारप्रति संघर्ष समितिले आपत्ति जनाएको छ ।
‘यो आन्दोलन दुर्गा प्रसाईको हो भनि गरिएको भ्रामक प्रचार र मिडियाबाजीप्रति घोर आपत्ति जनाउदछौं’ संघर्ष समितिका अध्यक्ष मनिराज ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो आन्दोलन शान्तिपुर्ण भएकाले हालको व्यवस्था विरुद्ध बोल्ने तथा असंवैधानिक शक्ति तथा समूहहरुसंग सहकार्य गरिने छैन ।’