
 2mb (1).gif)
नेष्डो समृद्ध लघुवित्तको लाभांश विवादबारे सर्वोच्च अदालतमा अर्को साता सुनुवाई हुने भएको छ । यस बारेको रिटको सुनुवाईको लागि हिजो जेठ १६ मा पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेपछि अब अर्को साता सुनुवाई हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जेठ २४ गते मुद्दाको अर्को पेशी तोकिएको छ ।
कम्पनीले आफुले प्रस्ताव गरेको लाभांश नै वितरण गर्न पाउनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर जेठ ५ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमा जेठ ९ गते न्यायधीश सुष्मालता माथेमाको एकल इजलाशले लाभांश घटाउने राष्ट्र बैंकको निर्देशन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । साथै राष्ट्र बनकको नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । अब जेठ २४ गते दुवै पक्षबीच छलफल हुने छ ।
नेष्डो लघुवित्तले ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्न गरेको प्रस्तावमा राष्ट्र बैंकले रोक लगाएर १७.९३ प्रतिशत लाभांश मात्र बाड्न निर्देशन दिएपछि कम्पनी अदालत गएको हो।नेष्डो लघुवित्तको चैत्र ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरी कुल ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रहेको छ ।
नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तलाई १७.९३४२ प्रतिशत लाभांश मात्र वितरण गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको यो निर्देशनमा असन्तुष्टि जनाउँदै कम्पनीको सञ्चालक समितिले राष्ट्र बैंक विरुद्द रिट दायर गरेको थियो ।
यो पनिः
नेष्डोलाई १७.९३ प्रतिशत लाभांश मात्र बाड्न राष्ट्र बैंकको निर्देशन, अदालत जाँदै कम्पनी
नेष्डो समृद्ध लघुवित्तले भन्यो ‘सबै निर्देशन पालना भएको छ, पुरै लाभांश स्वीकृतिको विश्वास छ’