ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ ।
कम्पनीले वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न शाखा तथा केन्द्रीय कार्यालयको कार्यक्षेत्र भित्र विविध कार्यक्रम सञ्चालन गरेको हो ।
कम्पनीले केन्द्रीय कार्यालय विजयपुर, कास्की, शाखा कार्यालय सुक्रौली परासी र शाखा कार्यालय सिमराभवानिपुर, रौतहटमा गरी ११० युनिट रक्त संकलन, शाखा कार्यालय थुम्सीकोटद्वारा क्व्होलासोथार गाउँपालिका ५ सिङ्दीमा यात्रु प्रतीक्षालय निमार्ण गरि हस्तान्तरण गरेको छ ।
यसैगरी, शाखा कार्यालय गलेश्वर, म्याग्दीद्धारा गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा ५५ जनालाई खाद्यान्न तथा फलफुल वितरण, शाखा कार्यालय यदुकुवा, धनुषामा बृहत नि : शुल्क स्वास्थ शिविर कार्यक्रम आयोजना गरिएको छ ।
कम्पनीले विभिन्न समयमा सामाजाकि उत्तरदायित्व र ग्राहक संरक्षणका विविध कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको बताएको छ ।
ग्रामीण समूदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गरी समग्र अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्धेश्य रहेको कम्पनीले बताएको छ ।
कम्पनीको ५४ वटा जिल्लामा १२० वटा शाखा र १ लाख ५२ हजारभन्दा बढी सदस्यहरु छन् ।