सबैको र साधना लघुवित्तमा मर्जरको लफडा, स्वदेशी र आँधिखोला हुन नदिने प्रतिबद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2024 | 10:44:42 AM मा प्रकाशित

मर्जरको बिषयलाई लिएर सबैको लघुवित्त बित्तिय संस्थाका देशभरका शाखा प्रमुखहरु एकै पटक आन्दोलनमा उत्रिएका छन्। साधनासंगको मर्जरको बिषयमा अन्याय भएकाले हातमा कालोपट्टि बाँधेर आन्दोलनमा उत्रनु परेको उनीहरुले जनाएका छन्। 

मर्जरको सम्झौता अर्थात एमओयु मा उल्लेख सहमतिका बुँदा भन्दा फरक तरिकाले नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएकाले आफुहरु आन्दोलनमा उत्रनु परेको आन्दोलनमा उत्रिएका एक शाखा प्रमुखले बिजपाटीलाई बताए। 

उनकाअनुसार मर्जर पश्चात सबैको साधना लघुवित्त हुनेगरी मर्जर सम्झौता भएपनि राष्ट्र बैकले अन्तिम स्वीकृति दिँदा साधना लघुवित्त मात्र नाम रहनेगरी स्वीकृति दिएको छ। यसले सबैको लघुवित्तको नाम मात्र अस्तित्वमा नरहने नभई सबैको लघुवित्तका कर्मचारीमाथि भोलिका दिनमा अन्याय हुने भएकाले अहिले नै त्यो परिस्तिथि आउँन नदिनलाई आन्दोलन गरिएको हो। 

मर्जरको सुरुवाती सहमति भन्दा फरक तरिकाले अन्तिम स्वीकृति दिनुले नै आफुहरुमाथि गम्भीर विभेद र अन्याय भएकाले अहिलेको यो रवैयालाई स्विकार्न नसक्ने सबैको लघुवित्तका कर्मचारीको भनाई छ। हालै मात्र नेरुड़े र मिर्मिरे लघुवित्तलाई मर्जर पश्चात नेरुड़े मिर्मिरे लघुवित्तको नाम दिएको राष्ट्र बैकले आफुहरुलाई सबैको साधना लघुवित्त नाम नदिएको प्रति पनि आन्दोलित कर्मचारीको असन्तुष्टि रहेको छ। 

"आज एनआईसी एसिया लघुवित्तमा तात्कालीन स्वदेशी लघुवित्तका एक जना कर्मचारी पनि भेटिदैनन, नत सिवाइसि लघुवित्तमा तत्कालिन आँधिखोला लघुवित्तका कर्मचारीलाई न्याय छ। त्यसैले हामि एनआईसी एसिया र सिवाइसि दोहोर्याउन दिन्नौ" आन्दोलनमा उत्रिएका एक शाखा प्रमुखले भने, "हामि मर्जरका बिरोधि होइनौं तर हाम्रो अस्तित्व मेटिन दिन्नौ।"

एनआईसी एसियाले स्वदेशी लघुवित्तलाई प्राप्त गरि एनआईसी एसिया लघुवित्त बनेको हो भने तत्कालिन आँधिखोला र सिवाइसि लघुवित्त मिलेर सिवाइसि लघुवित्त बनेका हुन। मर्जरको साइड इफेक्टका कारण आजका दिनमा एनआईसी एसियामा तत्कालीन स्वदेशी लघुवित्तका एक जना कर्मचारी छैनन् भने सिवाइसि लघुवित्तमा पनि तत्कालिन आँधिखोलाका करिब ५० प्रतिशत कर्मचारीलाई निकाली सकेको छ भने बाँकीलाई पनि सम्मानजनक अवस्था छैन। 

मर्जर पश्चात बन्ने संस्थाको नाम 'सबैको साधना लघुवित्त' हुने र मर्जर पश्चात बन्ने संस्थामा अध्यक्ष साधनाबाट हुने तथा प्रमुख कार्यकारी अधिकृत सबैकोबाट हुनेगरि मर्जरको सुरुवाती सहमति भएको बताइन्छ। तर मर्जर पश्चात साधना लघुवित्त मात्र नाम रहनेगरी नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। 

साधना लघुवित्त मात्र नाम रहनेगरि अन्तिम स्वीकृति पाएको खुसियालीमा साधना लघुवित्तका अहिलेका प्रमुख कार्यकारी अधिकृत रमेश न्यौपानेले केक काटेर  हर्ष बढाई गरेपछि सबैको लघुवित्तका कर्मचारी तथा उच्च व्यवस्थापन शसंकित र आक्रोशित बनेको छ। 

साधना लघुवित्तमा राष्ट्र बैंकका बहालवाला धेरै कर्मचारीको लगानी रहेकाले नियामकीय अधिकारको दुरुपयोग गरि सबैको अस्तित्व नै सकिने गरि मर्जर पश्चात साधना लघुवित्त मात्र नाम रहनेगरि अन्तिम स्वीकृति मिलेको गम्भीर आरोप छ। त्यसो त  राष्ट्र बैंकले पहिल्यैदेखि नै साधना लघुवित्तका धेरै कमीकमजोरीमा नजरअन्दाज गर्दै बिशेष संरक्षण दिंदै आएको बिभिन्न घटनाक्रमले देखाउंछ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved