सपोर्ट लघुवित्त वित्तीय संस्थाले बिहीबार गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
कम्पनीले असार मसान्तसम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७५.०३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थाको रकम घटेका कारण खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.१९ प्रतिशत बढेर ८ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशत र सञ्चालन मुनाफा १९४.३८ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३५ लाख रुपैयाँ रहेको कम्पनीको सम्भावित जोखिमबापतको व्यवस्था गत आर्थिक वर्षमा ९ लाख ७३ हजारमा सीमित भएको छ। जसले गर्दा कम्पनीको खुद नाफा र सञ्चालन मुनाफामा टेवा पुगेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७.८५ रुपैयाँ बढेर २२.१६ रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४९.५५ रुपैयाँ छ।
यसैगरी, कम्पनीको रिजर्भकोषमा ५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा कम्पनीले ३४ करोड ९१ लाख निक्षेप संकलन र १ अर्ब ६६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको चुक्तापूँजी १० करोड ७६ लाख रुपैयाँ छ ।