केहि लघुवित्त कम्पनीले गत आर्थिक वर्ष २०८०/ ८१मा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन। बिहीबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै गत आवमा खुद मुनाफा ७५ प्रतिशतले बढेको विवरण सार्वजनिक गरेको छ।
उक्त कम्पनीको वित्तीय विवरणलाई आधार मान्ने हो भने लघुवित्तको इतिहासमा पछिल्ला दुई वर्षदेखि लघुवित्त बिरोधि कुनै पनि गतिविधि वा यसका ऋणीहरु ऋण तिर्ने नसक्ने अवस्थामा थिए वा लघ्ुवित्तबाट चरम ज्यादती भएकाले सडक आन्दोलन भएको भन्ने कुरा गलत साबित हुन्छ।
पछिल्ला दुई वर्षयता नेपालको वित्तीय क्षेत्रमा सबैभन्दा बढी समस्यामा परेका भनेका क्षेत्र भनेका सहकारी र लघुवित्त नै हुन्। ऋण तिर्न नसकेको कारणले मात्र नभएर बहकाउमा लागेर वा धेरै लघवित्त कम्पनीबाट ऋण लिएर भार बोकेका ऋणीहरुको कारण धेरैजसो लघुवित्त कम्पनीको सावाँ तथा ब्याज उठन नसकेको अवस्था छ ।
यति ठूलो समस्या कायमै रहँदा पनि सपोर्ट लघुवित्त जस्ता कयौं लघुवित्त कम्पनीहरुले मनग्गे मुनाफा कमाएका वित्तीय विवरण सार्वजनिक गर्नुले शंका पैदा गराएको छ ।यस्तो अवस्थामा बेलुनको डल्लो फुले झैं लघुवित्तको ब्यालेन्स सिट कसरि फुल्यो भन्ने कुरामा प्रश्न उब्जिएको छ।
तर नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादब भने नेपाल राष्ट्र बैंकले दिएको सुविधाका कारण वित्तीय विवरण राम्रो राम्रो आउनु स्वभाविक भएको बताउँछन् ।
केन्द्रीय बैंकले लघुवित्त कम्पनीका लागि परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण र वा पुनरसंरचना गर्न सक्ने सुविधा दिएको थियो। जसअन्तर्गत २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा एक वर्ष थप हुने गरी पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने व्यवस्था छ।
सोहि व्यवस्थामा टेकेर लघुवित्त कम्पनीहरुले २०८० असार मसान्तसम्म गुड लोनमा परेका ऋणीबाट असुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत ब्याज असुल गरेर उनीहरुको कर्जालाई नियमित गरेका थिए। २०८० असार मसान्तयता नियमित नभएका ऋणको लागि गरेको प्रोभिजनलाई ुराइट ब्याकु गर्दा र कम्तिमा ५ प्रतिशत ब्याज लिंदा अधिकांश लघुवित्त कम्पनीको वित्तीय विवरणमा मनग्गे आम्दानी भएको देखिन आएको हो ।
तर यहि सर्कुलरमार्फत राष्ट्र बैंकले असुल हुन बाँकी ब्याजलाई पूँजीकरण गरी आम्दानी उल्लेख गर्न नपाइने व्यवस्था गरेको छ। सर्कुलरअनुसार प्रोभिजनबाट राइट ब्याक गरेर आएको रकम तथा बाँकी ब्याजको ५ प्रतिशत रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिन्छ ।
खलबलिएको वातावरणका कारण राम्रा लघुवित्त कम्पनीसमेत घाटामा जाने अवस्था रहेता पनि राइट ब्याक र ब्याजको ५ प्रतिशत बापतको रकमलाई आम्दानीमा देखाउन पाएकै कारण खुद ब्याज आम्दानी र खुद मुनाफा फुलेको बेलुन झैं देखिएको हो।
तर राइट ब्याक र ब्याजको ५ प्रतिशत बापतको रकमलाई ३० प्रतिशत कर तिरिसकेपछिको खुद आम्दानीबाट घटाउँदा वितरणयोग्य मुनाफा अत्यन्त कम आउने भएकाले अहिले देखिएको खुद मुनाफा वास्तविक नभएको एक लघुवित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा बताए ।