खराब कर्जा बढ्दा हिमालयन लघुवित्तको नाफा करिब २५% घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2024 | 12:37:15 PM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.८१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्ष कम्पनीको सञ्चालन नाफा १७.२२ प्रतिशत कम अर्थात् १ करोड ८ लाख रूपैयाँ भएको छ ।

गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढी हुँदा सञ्चालन नाफा घटेसँगै खुद नाफामा असर परेको देखिन्छ । अघिल्लो वर्ष १ करोड ७० लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम गत आवमा २ करोड ६१ लाख रूपैयाँभन्दा बढी छ ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.४७ प्रतिशत घटेको छ। कम्पनीको खराब कर्जा १.२८ प्रतिशत विन्दु बढेर ३.६५ प्रतिशत पुगेको छ। यससँगै कम्पनीको इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीले चौथो त्रैमाससम्ममा ९० करोड ४२ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । कम्पनीको निष्क्रिय कर्जा अघिल्लो वर्ष २.३७ प्रतिशत रहेकोमा गत वर्ष बढेर ३.३५ प्रतिशत कायम भएको छ । 

कम्पनीको जगेडा कोषमा १० करोड १९ लाख रूपैयाँभन्दा बढी छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६० करोड २६ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ३ अर्ब ७६ करोड ५७ लाख रूपैयाँभन्दा बढी ऋण प्रवाह गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २.३६  रूपैयाँ  छ भने प्रतिशेयर नेटवर्थ  १२३.५७  रूपैयाँ छ । कम्पनीको चुक्तापूँजी ३१ करोड ९८ लाख १८ हजार रूपैयाँ  छ ।राष्ट्रिय स्तरको कार्याक्षेत्र रहेको उक्त कम्पनीले ७५ ओटा शाखा कार्यालयमार्फत् ७४ हजार ७२० विपन्न परिवारमा लघवित्त सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved