
मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य दोस्रो बजारमा सूचीकृत भएकै दिन १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यो कम्पनी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएर बनेको कम्पनी हो । यो कम्पनीको कुल ६२ लाख ८३ हजार ५७३.३७ कित्ता शेयर सोमबार मात्रै नेप्सेमा सूचीकृत भएको थियो। स्टक सिम्बोल ‘एमएटीआरआई’ रहेको उक्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ४०६.२० रुपैयाँ पुगेको छ ।
जवकि नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि शेयरमूल्य प्रतिकित्ता १ हजार २७८.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। यसैगरी, मर्ज भएर बनेको उक्त कम्पनीले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
कम्पनीले सो अवधिसम्ममा ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ३० करोड ९९ लाख रुपैयाँ छ भने खुद फि तथा कमिशन आम्दानी भने ७० लाख १६ हजार रुपैयाँ ऋणात्मक छ। गत आवकोअन्त्यसम्ममा कम्पनीको कुल सञ्चालन आम्दानी ३६ करोड ८० लाख रुपैयाँ र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ छ।
कम्पनीले उक्त अवधिसम्ममा १० करोड ५८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। प्रतिशेयर आम्दानी १२.७१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ८४.२० रुपैयाँ छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१७.५० रुपैयाँ छ।
कम्पनीको रिटेन्ड अर्निङ्ग १० करोड ५८ लाख रुपैयाँ छ भने रिजर्भ कोषमा ६३ करोड २४ लाख रुपैयाँ छ।मर्जरपश्चात कम्पनीको चुक्तापूँजी ६२ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।