निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष(आव) मा वित्तीय अवस्थामा सुधार गरेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा ५० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा करिब १८० प्रतिशतले धेरै हो । अघिल्लो आवमा भने कम्पनीले १६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी २ अर्ब २३ करोड र सञ्चालन मुनाफा ७१ करोड ७८ लाख रुपैयाँ छ ।
यसैगरी, यो अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङमा १४ करोड ८९ लाख रुपैयाँ छ भने रिजर्भ कोषमा २ अर्ब ४२ करोड रुपैयाँ छ ।
समीक्षा अवधिसम्ममा २० अर्ब १८ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको कम्पनीले २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । यसैगरी, कम्पनीले इम्पेरिमेन्ट चार्जमा भने ४३ करोड ६ लाख रुपैयाँ छुट्टाएको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १९.३९ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १९८.६१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३६.७२ गुणा छ । कम्पनीको चुक्तापूँजी २ अर्ब ६१ करोड रुपैयाँ छ ।