सम्पदा लघुवित्त वित्तीय संस्थाले दाङ र पर्सा जिल्लामा वित्तीय साक्षरता तालिम आयोजना गरेको छ ।
कम्पनीले तुलसीपुर उपमहानगरपालिका ११ उरहरीमा वित्तीय साक्षरता तालिम सञ्चालन गरेको थियो । उक्त अवसरमा वित्तीय साक्षरता तालिमका साथसाथै तिज विशेष कार्यक्रम पनि सञ्चालन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताए । तालिममा कोमल प्रसाद जोशी, विक्रम उपाध्याय, रिमा कँडेलले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
सहभागीहरुले वित्तीय साक्षरताको परिचय, बचतको महत्व र फाइदाहरु, कर्जाका फाइदाहरु कर्जा सदुपयोगिता गर्नुका फाइदाहरु आदि विषयहरुमा जानकारी हासिल गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई तिजको दर खुवाउने कार्यक्रम पनि राखिएको थियो ।
वित्तीय साक्षरता तालिम तथा दर खाने कार्यक्रमका साथसाथै सहभागीहरुले वित्तीय साक्षरता झल्काउने गीत, तिज गीत गाउँदै नृत्य समेत गरेका थिए ।यसैगरी, कम्पनीले पर्सा जिल्लाको ठोरीमा समेत वित्तीय साक्षरता तालिम आयोजना गरेको छ ।
कार्यक्रममा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान लिनुका साथसाथै वित्तीय साक्षरता सम्बन्धी गीत, तिज गीतमा नृत्य गरेका थिए । उक्त कार्यक्रममा सहभागीहरुलाई दर खुवाउने कार्यक्रम समेत राखिएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता ठोरी शाखा कै ग्राहक सदस्य तथा केन्द्र प्रमुख दिल कुमारी रिजालले गरेकी थिइन् भने प्रमुख अतिथिमा पर्सा जिल्ला ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी रहेकी थिइन् ।
सो अवसरमा रेग्मीले गरिवी निवारणमा बैंक तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका भएको बताइन् । कार्यक्रममा २११ जनाको सहभागिता थियो ।कम्पनीले हाल ४५ वटा जिल्लाहरुमा १८३ वटा शाखा कार्यालयहरुको सञ्जालमार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले ग्रामीण क्षेत्रका शोषित, उत्पिडित, पिछडिएका गरीब विपन्न परिवारहरुका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो सामूहिक जमानीमा कर्जा प्रदान गर्नुका साथै विभिन्न किसिमको गैरवित्तीय सेवा अन्तर्गत ग्राहक सदस्यहरुलाई सचेतनामूलक कार्यक्रम, परामर्श सेवाका साथै वित्तीय साक्षरता तालिम, सीप विकास तालिम, उद्यमशीलता विकास तालिम आदि समेत प्रदान गर्दै आइरहेको बताएको छ ।
कम्पनीले गत आर्थिक वर्षको साउन मसान्तसम्ममा १ लाख ७७ हजार ९३० विपन्न घरधुरीहरुमा सेवा विस्तार गरेको छ ।यसका साथै कम्पनीले साउन मसान्तसम्ममा ९ अर्ब ५५ करोड ६३ लाख ५ हजार ५७९ रुपैयाँ लगानी गरेको छ भने ग्राहक सदस्यहरुको बचत २ अर्ब ५३ करोड ४२ लाख २१ हजार ३८५ रुपैयाँ परिचालन गरेको छ ।