लघुवित्त बित्तिय संस्थाहरुमा जीवन विमा कम्पनीसंग मिलेर आर्थिक अपचलनको घटना बढ्न थालेको पाइएको छ। जीवन बिमा कम्पनीले लघुवित्तका कर्मचारीलाई तालिम दिन गरेको खर्चलाई लघुवित्तबाटै भुक्तानी गराएर एउटा भुक्तानी गोजीमा हाल्ने गरेको घटना लघुवित्तमा बढ्न थालेको पाइएको हो।
लघुवित्तहरुले सदस्यलाई ऋण दिने बेलामा ऋण रकमको केहि प्रतिशत बिमा बापत शुल्क लिने गर्दछ । एउटा लघुवित्तले सामान्यतया वार्षिक ८-१० करोड बराबरको व्यवसाय जीवन बिमा कम्पनीलाई दिने गर्दछन। सो बापत जीवन बिमा कम्पनीले आफुले नै खर्च ब्योहोरेर लघुवित्तले सिफारिस गरेका कर्मचारीलाई बिमा सम्बन्धी तालिम दिंदै आएका छन्।
तर पछिल्लो समय यसरी तालिम बापत जीवन बिमा कम्पनीले गरेको खर्च गोजीमा हालेर लघुवित्तबाट नै तालिमको खर्च भुक्तानी गर्ने गरेको घटना बढ्न थालेको हो।
हालै मात्रै मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत (सीइओ) लक्ष्मी प्रसाद शर्मा विरुद्ध मेटलाइफ बिमा संस्थालाई प्रायोजक बनाएको भएपनि सम्पूर्ण भुक्तानी संस्थाबाट गराएको आरोप राष्ट्र बैंकमा दर्ता भएको छ। उक्त कार्यक्रमको खर्च करिब ४० लाख मेट लाइफलाई भुक्तानी गराएको भएपनि सोही बिलका आधारमा संस्थाबाट पनि भुक्तानी गरेको उजुरीमा उल्लेख छ।
त्यस्तै सिवाइसि लघुवित्त बित्तिय संस्थामा त्यहाँका प्रमुख कार्यकारी अधिकृत डोलराज शर्मामाथि पनि जीवन बिमा कम्पनीले तालिमको प्रायोजन गरेपनि त्यो तालिमको सम्पूर्ण भुक्तानी संस्थाबाट गराएको आरोप लागेको छ। तालिमको पैसा संस्थाबाट भुक्तानी गर्ने र जीवन बिमा कम्पनीले प्रायोजन गरेको पैसा गोजीमा हाल्ने गरेको आरोप छ। पछिल्लो समय यस प्रकारका घटना धेरै लघुवित्त बित्तिय क्षेत्रमा घटेको त्यहाँका अरु संचालक तथा कर्मचारीहरुले बताउने गरेका छन्।