स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले काठमाडौंको शंखरापुर नगरपालिका, साँखुस्थित भगवती माध्यमिक विद्यालयमा “विद्यार्थीहरूसँग वित्तीय साक्षरता तथा वातावरण संरक्षण” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा २४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
लघुवित्तले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युवा तथा विद्यार्थीहरूलाई वित्तीय सचेतना जगाउने, वातावरण संरक्षणको महत्व बुझाउने तथा ‘३ शून्य’ (शून्य कार्बन उत्सर्जन, शून्य गरिबी, र शून्य बेरोजगारी) अवधारणाको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो। शाखा कार्यालय साँखुले स्थानीय तहका विद्यार्थीहरूलाई वित्तीय शिक्षाको महत्व बुझाउनका लागि यो अभियान अघि बढाएको जनाएको छ।
कार्यक्रममा संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईंले कार्यक्रममा उठाइएका विषयहरूबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई वित्तीय अनुशासनको महत्वबारे जानकारी गराएका थिए। साथै, प्रवन्धक सुमन श्रेष्ठले वित्तीय साक्षरता र ‘३ शून्य’ कार्यक्रमबारे विस्तृत प्रस्तुति दिएका थिए।
विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठ, उपप्रधानाध्यापक संजीव श्रेष्ठ, शिक्षक तथा अभिभावकहरू समेत कार्यक्रममा उपस्थित थिए। सहभागीहरूले वित्तीय साक्षरताको महत्वबारे बुझ्दै वातावरणीय सरोकारका विषयमा समेत छलफल गरेका थिए। विद्यालय प्रशासनले समेत विद्यार्थीहरूलाई वित्तीय व्यवस्थापन तथा वातावरणीय सचेतनाबारे ज्ञान प्रदान गर्ने यस्ता कार्यक्रमहरू उपयोगी हुने बताएको छ।
स्वावलम्बन लघुवित्तले आगामी दिनमा पनि वित्तीय शिक्षाको विस्तार गर्ने तथा युवाहरूलाई सचेत बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।