नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत कर्जा परिचालनमा केहि लचकता अपनाएको छ ।
विशेषगरि घरजग्गा, सवारी र बैंकहरुको पूँजी कोषमार्फत राष्ट्र बैंकले कर्जा प्रवाहमा केहि लचकता देखाएको हो। घरजग्गा कर्जामा सावाँ ब्याज भुक्तानी गर्दा करयोग्य आम्दानीको ७० प्रतिशत गणना गर्न पाउने व्यवस्था गरेर केन्द्रीय बैंकले घरजग्गा कर्जा प्रवाहमा केहि सहजता ल्याउने प्रयास गरेको छ।
यसअघि सावाँ ब्याज भुक्तानीको लागि कर योग्य आम्दानीको ५० प्रतिशत मात्र गणना गर्न पाउने व्यवस्था थियो। यसले विभिन्न कारणले सुस्ताएको घरजग्गा कारोबारलाई केहि चलायमान बनाउने अपेक्षा छ।
त्यस्तै हायर पर्चेज प्रकृतिका सवारी साधनको खरीदमा पनि जोखिमभार १०० प्रतिशत मात्रै रहने व्यवस्था गरेर राष्ट्र बैंकले सवारी कर्जा प्रवाहमा केहि सहजता ल्याउने प्रयास गरेको छ। यसअघि सवारीको खरीदमा जोखिमभार १२५ प्रतिशत कायम थियो।
जोखिमभार कम भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले सजिलोसँग हायरपर्चेज प्रकृतिका सवारीसाधन कर्जा प्रवाह गर्न सक्ने र यसको जोखिमबापतको प्रिमियम कम हुने विश्लेषण गरिएको छ।
त्यस्तै लामो समयदेखि बैंकहरुले राख्दै आएको पूँजी कोष वृद्धिको टुल्समा पनि केहि उपाय अपनाउने संकेत गरेर राष्ट्र बैंकले कर्जा प्रवाहलाई बढावा दिन खोजेको देखिन्छ। पूँजीका लागि अन्य उपकरण दिने भनिएकोले अहिले क्यापिटल एडुकेशीले गर्दा कर्जा प्रवाह गर्न नसकेका बैंक वित्तीय संस्थालाई धेरै ठूलो राहत पुग्ने देखिन्छ।
क्यापिटल एडुकेशीले गर्दा झन्डै आधा दर्जन बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था पुगेकाले पूँजीका लागि अन्य उपकरण दिने व्यवस्थाले कर्जा प्रवाहमा धेरै राहत पुग्ने अनुमान छ।
अन्य घरजग्गा र सवारी कर्जामा विद्यमान व्यवस्थामा केहि सहजता अपनाएको राष्ट्र बैंकले शेयर धितो कर्जामा कायम कसी कसाउलाई यथावत राख्न खोजेको देखिन्छ। शेयर धितो कर्जाको सिलिङ्ग हटाउने र जोखिमभार घटाउने मागबारे राष्ट्र बैंकले केहि बोल्न नचाहेको देखिन्छ। बरु उल्टै, बैंक तथा वित्तीय संस्थाहरुको एक वर्ष अवधि व्यतीत भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था बनाइएको छ।
यसअघि आफ्नो प्राथमिक पूँजीको एक प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था थियो। यो व्यवस्थाले शेयरबजारमा शेयर आपूर्ति बढाउने र मूल्यमाथि दबाब बढाउने हुनाले शेयरबजारको लागि यो व्यवस्था सकारात्मक नभएको जानकारहरुको भनाइ छ ।
शेयर धितो कर्जामा कसी कसाउ उस्तै किन ?
अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) तथा नेपाल राष्ट्र बैंकको अध्ययन अनुसन्धानले विभिन्न शिर्षकका कर्जा शेयर तथा घरजग्गामा गएको देखाएको छ। सो अध्ययनलाई टेकेर आईएमएफले पनि शेयर धितो कर्जामा अनुशासन पालना गराउनुपर्ने धारणा औपचारिक तथा अनौपचारिक रुपमा राख्दै आएको छ। यता शेयर धितो कर्जामा पछिल्लो समय नेपाल राष्ट्र बैंकले आफ्नो धारणामा भने परिमार्जन गरेको छ।
शेयर धितो कर्जा ब्रोकरमार्फत नै होस् भन्ने आईएमएफको चाहना र राष्ट्र बैंकको पनि सोही धारणा रहेकाले त्यहि दिशातर्फ बैंकिंग अगाडी बढेको राष्ट्र बैंक स्रोतले बताएको छ।
‘बैंकको शेयर किन्न बैंकबाटै कर्जा लिने अभ्यास राम्रो होइन, अन्तरराष्ट्रिय अभ्यास पनि त्यस्तो छैन, अब ब्रोकर लाई नै बलियो बनाएर ब्रोकरमार्फत नै कर्जा परिचालन हुनुपर्छ’ ,स्रोतले भन्यो।