
कोरोना भाइरस (कोभिड–१९) को कारण रोजगारी गुमाएकाहरु मध्ये केहिले आफ्नै नयाँ व्यवसाय सुरु गर्ने सोंच बनाएका छन् । नयाँ व्यवसाय सुरु गर्नको लागि सरकारले विभिन्न सहुलियत प्रदान गरेको छ ।
जसमा महिलाहरुले विशेष सुविधा पाउँछन् । यदि तपाई महिला हुनुहुन्छ र सरकारले दिएको सहुलियत थाहा पाउनु भएको छैन भने यो तपाइको लागि उपयोगी हुन सक्छ ।
सरकारले महिलालाई प्राथकितामा राखेर विभिन्न स्थान तथा क्षेत्रमा सहुलियत दिएको छ । महिलाको नाममा उद्योग दर्तादेखि घरजग्गा कारोबारसम्म छुट दिईएको छ । नेपाल सरकारको औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २७ मा महिला उद्यमीका लागि थप सुविधा उपलब्ध गराउने गरी व्यवस्था नै गरेको छ । उद्योग विभागका अुनसार उक्त ऐन अुनसार महिलाले घरेलु तथा साना उद्योग तथा उद्योग विभागमा उद्योग दर्ता गर्दा लाग्नु दस्तुरमा ३५ प्रतशित छुट पाउनेछन् । घरेलुमा उद्योग दर्तागर्दा लाग्ने एक हजार शुल्कमध्येमा महिलाले ३५० छुट पाउँछन् ।
यसैगरी महिला उद्यमीको मात्र स्वामित्व रहने गरी दर्ता भएका उद्योगमा प्रयोग गरिने औद्योगिक सम्पत्ति पेटेण्ट डिजाइन र ट्रेडमार्क दर्ता गराउँदा लाग्ने दस्तुरमा २० प्रतिशत छुट पाउनेछन् । महिला उद्यमीले कुनै औद्योगिक क्षेत्र र औद्योगिक ग्रामभित्र नयाँ उद्योग स्थापना गर्न चाहेमा त्यस्तो क्षेत्र सञ्चालन गर्नै निकायले स्थान उपलब्ध गराउन प्राथमिकता दिनुपर्नेछ ।
महिलाले सञ्चालन गरेको उद्योगले औद्योगिक उत्पादन निर्यात गर्न तथा प्रयोजनको लागि कर्जा माग गरेमा महिला उद्यमीको व्यवसायको वित्तीय स्थितिको आधारमा महिला उद्यमीको लागि कर्जा उपलब्ध गराउने कोषबाट बैकिङ प्रणाली मार्फत तोकिए बमोजिम निर्यात कर्जा पाउछन् ।
यसैगरी महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन गर्दा २५ देखि ५० प्रतिशत सम्म छुट दिइएको छ । आर्थिक ऐन २०७३ ले महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन गर्दा तराई र पहाडमा २५ प्रतिशत छुट र हिमालमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । जसमा एकल महिलाको हकमा ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । ३३ प्रतिशत महिलालाई रोजगारी दिने उद्योगले २० प्रतिशत कर छुट पाउँछन् ।