करार र अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2024 | 12:08:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निजामति सेवामा कार्यरत करार र अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध  गराउने योजना बनाएको छ । 

आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ती कर्मचारीलाई सामाजिक सुरक्षामा आवद्ध गराउने योजनामा सरकार रहेको छ ।सामाजिक सुरक्षा कोषले यसको मोडालिटी बनाएर अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको भए पनि कार्यान्वय हुन सकेको थिएन । जसका कारण करार र अस्थायी कर्मचारी उक्त योजनामा सूचीकृत हुन सकेका छैनन् । 

त्यसो त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटिने तयारी भइरहेको बताइसकेका छन् । सामाजिक सुरक्षा कोषका कार्यकारी प्रवक्ता विवेक पन्थीले पनि सार्वजनिक सेवामा रहेका कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सामेल गराउनेबारे आगामी आवदेखि लागू गर्ने गरि सम्बन्धित निकायमा पत्राचार गरिएको बताए ।

 सरकारले महत्वाकांक्षाका साथ शुरु गरेको सामाजिक सुरक्षा योजनामा सरकारी सेवामा काम गर्ने लगभग ४० हजारभन्दा बढी करार र अस्थायी कर्मचारी सूचीकृत हुन सकेका छैनन् । 

सरकारको नीति तथा कार्यक्रमले पनि अनौपचारिक क्षेत्र र करारमा रहेका श्रमिकको सुरक्षा योजनालाई समेट्ने बताइसकेको छ । हाल मुलुकभर करिब ३५ देखि ४० हजार करार र अस्थायी कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा कार्यरत रहेको अनुमान छ । 

हाल सम्ममा सुरक्षा  कोषमा औपचारिक, अनौपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार गरेर १३ लाख २१ हजारभन्दा बढी योगदानकर्ता  सहभागी छन् । सबै क्षेत्रका योगदानकर्ता गरेर कोषमा हालसम्म ५४ अर्ब ७५ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

यसैगरी, विभिन्न योजना अन्तर्गत श्रमिक तथा उनीहरुका परिवारलाई ९ अर्ब २ करोडभन्दा बढी भुक्तानी भइसकेको कोषले जनाएको छ । योजनामा १८ हजार ९३६ रोजगारदाता र वैदेशिक रोजगारीमा रहेका सहित १३ लाख ५७ हजार श्रमिक सूचीकृत छन् ।

 कोषले ल्याएका विभिन्न योजनाप्रति योगदानकर्ताको आकर्षण बढाउन केहि योजनाको परिमार्जन गरिएका छन् । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता निकायले बचतकर्तालाई दिएका सुविधा सामाजिक सुरक्षा कोषले पनि कार्यान्वयनमा ल्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved