सर्वोच्च अदालतमा आज आइतबारको लागि तय भएको शेयर बजारबारेको छलफल स्थगित भएको छ । 'हेर्न नभ्याइने' भन्दै आजको लागि तय भएको छलफल स्थगित भएको हो ।
शेयर बजार खोल्न अन्तरिम आदेश दिने कि नदिने भन्ने बारे आज छलफल तय भएको थियो । शेयर बजार खुलाउन अन्तरिम आदेशको माग गर्दै दायर भएको रिटमा प्रारम्भिक सुनुवाईपछि आज दुवै पक्षलाई छलफलको लागि बोलाईएको थियो । यस अघि बिहिबार 'हेर्न नभ्याइने' भन्दै उक्त पेशी आजको लागि तोकिएको थियो । तर आज पनि 'हेर्न नभ्याइने' भन्दै पेशी स्थगित भएको हो ।
आज यस मुद्दाको पेशी न्यायाधिशहरु सपना मल्ल प्रधान र कुमारी रेग्मीको इजलाशमा तोकिएको थियो । त्यस इजलाशमा यो मुद्दा पाचौ क्रमसंख्यामा परेको थियो । त्यस अघि सोहि इजलाशमा एउटा बन्दीप्रत्यक्षीकरण मुद्दा र अन्तरिम आदेश माग गरिएका ३ वटा रिटमा सुनुवाई हुने तय थियो। ति सबै मुद्दामा आज सुनुवाई हुने भए पनि पाचौ नम्बरमा रहेको शेयर बजार सम्बन्धी र त्यसपछिका मुद्दा 'हेर्न नभ्याइने' भएको हो । रिट दायर गरेका अधिवक्ता रपिश पोखरेलका अनुसार यस मुद्दाको सुनुवाई हुने मिति आज बेलुका तय हुने छ ।
अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले लकडाउन सुरु भएपछि बन्द भएको सेयर कारोबार खुला हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । अदालतले उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै शेयर बजार नखोल्नुबारे कारण देखाउ आदेश जारि गरिसकेको छ । न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले गत आइतबार सरकारको नाममा कारण देखाउ आदेश जारि गरेको थियो । उक्त आदेशमा १५ दिन भित्र लिखित जवाफ दिन सरकारलाई भनिएको छ । अदालतले उपयुक्त ठानेमा बजार संचालनको लागि अन्तरिम आदेश आउँन सक्ने छ ।
रिटमा लामो समय सेयर कारोबार बन्द हुँदा पेशा गर्ने नैसर्गिक अधिकार हनन भएको र पेशाकर्मीहरुको रोजीरोटीमा पनि समस्या भएकोले बजार खुलाउन आदेश जारी हुनुपर्ने माग गरिएको थियो । रिटमा अनलाइन करोबार हुने गरि बजार संचालन गर्न माग गरिएको छ । त्यस्तै सरकारको नाममा उपयुक्त आदेश मार्फत धितोपत्रको दोस्रो बजारमा डिजिटल कारोबार हुने ब्यबस्था गरि कारोबारलाई नियमित गर्न रिटमा माग गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड अनि नेपाल स्टक एक्सचेञ्जलाई विपक्षी बनाइएको छ ।
नेपाल धितोपत्र बोर्डले भने सोमबारबाट बजार खोल्न नेप्सेलाई निर्देशन दिई सकेको छ ।