नेपालकै पहिलो स्किम: जहाँ सानो सानो लगानीले पुरा हुन्छन ठुला सपना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 05:39:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा खुलामुखी सामुहिक लगानी कोष संचालनमा आएको एक वर्ष पुरा भएको छ। एनआईबिएल एस क्यापिटलले गत वर्ष असारदेखि 'एनआईबिएल सहभागिता फण्ड'को नामबाट नेपाल मै पहिलो पटक खुलामुखी योजना संचालन गरेको हो।

पहिलो वर्ष यस खुलामुखी म्युचुअल फण्डले इकाईधनीहरुलाई ८.२५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । साथै कम्पनीले लाभांशलाई पुन: लगानी गर्ने अफर पनि ल्याएको छ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत नहुने हुँदा खुलामुखी योजनाबारे धेरै लगानीकर्ता जानकार भएको पाइदैन। फण्डका स्किम म्यानेजर पोस्कर बस्नेत सानो सानो रकम लगानी गरेर ठुलो सपना पुरा गर्नको लागि यस्तो फण्ड सहयोगी हुने बताउछन्।

उनकाअनुसार यसमा न्युनतम एक हजारबाट नै लगानी सुरु गर्न सकिन्छ। नेप्सेमा सुचिकृत कम्पनीको शेयर वा इकाई खरिद गर्नको लागि बिक्रि गर्ने व्यक्ति चाहिन्छ। तर यसको हकमा भने खरिदकर्ताले चाहेकै बेला इकाई खरिद गर्न सक्छ । साथै अर्को उत्कृष्ट पक्ष भनेको आफुलाई बेच्न मन लागेको बेलामा यसलाई सहजै बिक्रि गर्न सकिन्छ ।

कम्पनीले  लगानीकर्ताहरुको लागि १ हजार बाट नै सुरु गर्न सकिने सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) पनि ल्याएको छ । जसमा लगानीकर्ताले मासिक, त्रैमासिक, अर्धवार्षिक, वा वार्षिक रुपमा रकम लगानी गर्न सक्ने छन् । यो निश्चित समयमा किस्ता तिरे जस्तै हो । कति कति समयमा कति कति रकम लगानी गर्ने भन्ने निर्णय भने लगानीकर्ता स्वयंले लिनु पर्छ । 

क्यापिटलले हाल लिमिटेड र अनलिमिटेड गरी २ प्रकारको एसआईपी ल्याएको छ । लिमिटेड एसआईपीमा लगानीकर्ताले तिर्ने रकम, तिर्ने अवधि फिक्स हुन्छ । जस्तै लगानीकर्ताले वर्ष नै तोकेर निश्चित वर्षसम्मको लागि एक पटकमा १ हजार देखि २० हजार सम्म लगानी गर्न सक्ने छन्।

यो पनि : एनआईबिएलको खुलामुखी म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, लाभांश पुन: लगानीको अवसर 

अनलिमिटेडमा भने लगानीकर्ताले यति वर्षसम्म निरन्तर लगानी गर्ने भनेर सुरु मै खुलाउनु पर्दैन । यस अन्तर्गत लगानीकर्ताले एक पटकमा न्युनतम १ हजार देखि ३० हजारसम्म लगानी गर्न सक्ने छन् । क्यापिटललाई जानकारी गराएर जुनसुकै बेला यो प्लान बन्द गर्न सकिने स्किम म्यानेजर बस्नेत बताउछन् ।  एसआईपी मोडलको लगानी भविष्यमा सहज 'रिटायर्ड जीवन' बिताउन, ठुलो सपिङ गर्न, विश्व भ्रमण गर्न, गाडी खरिद गर्न, घर खरिद गर्न, बाल बच्चाको शिक्षामा लगायतका ठुलो रकम खर्च हुने कार्यमा उपयोगी हुने उनी बताउछन् ।  

'यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले व्यवस्थित लगानी योजना मार्फत पूर्व निर्धारित लगानी योग्य रकमलाई नियमित समयको अन्तरालमा लगानी गर्न सक्छन् । यसका लागि लगानीकर्ताहरुले समय अन्तराल, रकम र रकम भुक्तानी गर्ने माध्यम निर्धारण गर्नु पर्ने हुन्छ र योजना व्यस्थापकले सो अवधिमा आवश्यक प्रकृया पुरा गरी नियमित इकाईहरुको खरिद गर्दिने गर्दछ' उनले भने, 'उक्त लागनी योजना नियमित गर्न नचाहेमा लगानीकर्ताले बिना कुनै शुल्क नियमित नगर्न समेत सकिनेछ । साथै, नियमित रुपमा विभिन्न मुल्यमा निरन्तर इकाईहरुको खरिद गरिने हुनाले औसत लगानी मुल्य समायोजन भई लगानीको लागत मुल्य नै कम भई उच्च प्रतिफलको सम्भावना बढेर जान्छ ।'

लगानीकर्ताले जति जति इकाई खरिद गर्दै जान्छन् सोहि अनुसार योजनाको आकार बढ्दै जान्छ भने उनीहरुले आफ्नो इकाई बिक्रि गरेसँगै योजनाको आकार घट्छ । तर लगानीकर्ताले चाहेको बेला खरिद र बिक्रि दुवै सहजै गर्न सक्छन् ।  

क्यापिटलले यस आयोजनाको लागि हरेक दिन मूल्य अर्थात न्याभ तोकेको हुन्छ । सोहि मूल्यमा नै त्यस दिन खरिद बिक्रि हुन्छ ।  जति खरिद बिक्रि भए पनि एक कार्यदिनमा मूल्य परिवर्तन हुदैन ।  

क्यापिटलले इकाई खरिद बिक्रिको लागि ४२ केन्द्र तोकेको छ । इकाई खरिदपछि अनलाईनबाटै रकम तिर्न सकिने सुविधा पनि योजनाले उपलब्ध गराएको छ । योजनाले छिट्टै अनलाइनबाट नै इकाई खरिद बिक्रि गर्न सकिने ब्यबस्था गर्न लागिएको समेत जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved