सकिँदै केवाईसिको झन्झट, बायोमेट्रिक विवरण सहितको डिजिटल आईडीको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 09:50:13 AM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बजारका सेवाग्राहीको ग्राहक पहिचान विवरण (सी–केवाइसी) को लागि अनलाईन प्रविधिमा आधारित केन्द्रीकृत प्रणाली विकास हुने भएको छ  ।  

धितोपत्रको केन्द्रिय निक्षेप सेवा नियमावलीमा भएको ब्यबस्था अनुसार सिडिएस एण्ड क्लिएरिङ्ग लिमिटेड (सिडिएससि) ले यो प्रणाली सुरु गर्न लागेको हो ।हाल यसको निर्देशिकाको मस्यौदा तयार भई नेपाल धितोपत्र बोर्डले सुझाव आह्वान गरेको छ  ।  सिडिएससिले ग्राहकको पहिचान विवरण केन्द्रीकृत रुपमा राख्नका लागि केन्द्रीकृत केवाइसी प्रणाली सार्वजनिक–निजी साझेदारीमा प्राविधिक साझेदार नियुक्त गरी लागू गर्ने गरी प्रणाली तयार पार्ने भएको हो ।

केन्द्रीकृत केवाइसी प्रणालीका निम्न विशेषता छन् :

-प्रणालीमा ग्राहकको बायोमेट्रिक (व्यक्तिगत परिचय) डिजिटल फोटो, नागरिकताको प्रमाणपत्र, जन्म दर्ताको प्रमाणपत्र लगायतका ग्राहकको परिचय खुल्ने प्रमाणपत्र सहितको केवाइसी विवरण केन्द्रीकृत रुपमा प्रविष्टि हुनेछ ।

-केन्द्रीकृत केवाइसी प्रणालीमा ग्राहक आफैं वा घरैबाट केवाइसि प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत्बायोमेट्रिक विवरण प्रविष्टि गर्न सकिनेछ ।

-ग्राहकको व्यक्तिगत परिचयसहितको विवरण प्रमाणित गरे पश्चात प्रणालीबाट पृथक केवाइसी आइडी प्राप्त हुनेछ ।

-ग्राहकको बायोमेट्रिक, नागरिकताको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्रको आधारमा ग्राहकको दोहोरो प्रविष्टि नहुने गरी प्रणालीले प्रमाणिकरण गर्नेछ ।

-ग्राहकको हितग्राही खाता खोल्नको लागि केन्द्रीकृत केवाइसी प्रणालीलाई केन्द्रीय निक्षेप प्रणालीमा आवद्ध गरिनेछ । 

-ग्राहकले धितोपत्र बजारमा कारोबार गर्न केन्द्रीकृत केवाइसी प्रणालीलाई कारोबार प्रणाली लगायत अन्य निकायसंग आवद्ध गर्न सक्नेछ ।

-केन्द्रीकृत केवाइसीमा अभिलेख भएका विवरण अन्य निकायले समेत प्रयोग गर्न सक्नेछ ।

-हितग्राही खाताको विवरणको तथ्यांक शुद्धीकरण गरी एक व्यक्तिको एक भन्दा बढी हितग्राही खाता समेत यकीन हुने गरी पृथक केवाइसी आइडी प्रदान गर्न सक्नेछ ।

-केवाइसी प्रविष्टि, केवाइसी संसोधन, केवाइसी डाउनलोडको अडिट लग गर्न सक्नेछ ।

- हितग्राही खातालाई केवाइसी आइडीसंग आवद्ध गर्न सक्नेछ ।

ग्राहकको केन्द्रीकृत केवाइसि दर्ता गर्ने प्रयोजनका लागि निक्षेप सदस्य, धितोपत्र दलाल, लगानी व्यवस्थापक, मर्चेन्ट बैंकर्स, बजार निर्माता, सामूहिक लगानी कोष व्यवस्थापक,ले सिडिएससि समक्ष निवेदन दिन सक्नेछन्।

यस प्रणाली अन्तर्गत कम्पनीले ग्राहकलाई स्थायी केवाइसि आईडी उपलब्ध गराउनु पर्नेछ ।  यस्तो आईडी धितोपत्र बजारका अन्य संस्था वा कम्पनीले समेत प्रयोग गर्न सक्नेछन्। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved