
सिडीएस एण्ड क्लियारिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको लागि ३ जनाको नाम सिफारिस भएको छ । कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वाताको आधारमा छनौट समितिको आइतबारको बैठकले ३ जनाको नाम सिफारिस गरेको हो ।
समितिले पूर्ण प्रसाद आचार्य, भिष्म चालिसे र कृष्ण गिरिको नाम नेप्सेको संचालक समिति समक्ष सिफारिस गरेको हो । अब यी ३ मध्येबाट नेप्से संचालक समितिले एक जनालाई सीइओ नियुक्त गर्ने छ ।
सीईओको लागि पूर्ण प्रसाद आचार्य, मान वहादुर खत्रि, दिनेश कुमार बर्तौला, डिल्ली प्रसाद चौधरी, कृष्ण गिरी, कृष्ण लामिछाने र भिष्मराज चालिसेले आवेदन दिएका थिए । ति मध्ये लामिछाने बाहेकका ६ जना पहिलो चरणमा सर्ट लिस्टमा परेका थिए । ६ जनाबाट ३ जना सिफारिसमा परेका हुन् ।
छनौटमा परेका मध्ये गिरी हाल प्रभु क्यापिटलको उच्च तहमा कार्यरत छन् भने चालिसे सिभिल क्यापिटलका पूर्व सीइओ हुन् । त्यस्तै आचार्य कृषि विकास बैंकका पुर्व नायब प्रमुख कार्यकारी अधिकृत हुन्। कृषि बिकास बैंकको सीईओमा प्रबल दाबेदार मानीएपनि पछि छनौट नभएका आचार्यलाई सीडीएएससीको सीईओको प्रमुख दाबेदारको रुपमा लिइएको छ। उनी सीइओ नभएको खण्डमा कृष्ण गिरी सीइओ हुने बताईएको छ ।
स्रोतका अनुसार आचार्य झलनाथ खनालका भान्जा हुन्। यद्दपी आचार्यले बजारमा आफुलाई पुर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ट नेता झलनाथ खनालको भान्जाको रुपमा प्रचार गरीएपनि आफु उनको भान्जा नभएको बिजपाटीलाई बताएका छन्।
सिडीएस एण्ड क्लियारिङ लिमिटेडको संचालक समितिको बैठकले सीइओ खुल्ला प्रतिस्पर्धाबाट छनौटका लागि पाँच सदस्यीय छनौट समिति गठन गरेको थियो । नेप्सेका उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा रहेको समितिमा नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट उपसचिव मुकुन्द पोख्रेल, नेपाल धितोपत्र बोर्डबाट निर्देशक नारायण प्रसाद शर्मा, नेप्सेका गिरिराज दाहाल सदस्य छन् भने विज्ञ सदस्यका रूपमा मोहन ओझा छन्।