शेयरको अनलाइन कारोबारको लागि आईडी र पासवर्ड लिन ब्रोकर हाउस धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । टिएमएस वेबसाइटबाटनै अनलाईन आईडी र पासवर्डको लागि निवेदन दिन सकिने भएपछि ब्रोकर धाउनु पर्ने बाध्यताको अन्त्य भएको हो ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेले आइतबारबाट अनलाईन कारोबारको लागि अनलाईन बाट नै रजिस्टर गर्न सकिने ब्यबस्था गरेको हो । जस अनुसार लगानीकर्ताहरुले आफुले कारोबार गर्न चाहेको सम्बन्धित ब्रोकरको टिएमएस वेबसाइटबाट फारम भर्न सक्ने छन् ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सबै काम अनलाइनबाट नै गर्न सकिने र ब्रोकर हाउस धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताए । उनका अनुसार लगानीकर्ताले आफ्नो हस्ताक्षर पनि स्क्यान गरेर वेबसाइटमा नै अपलोड गर्न सक्ने छन् । यद्यपि ब्रोकरहरुले पनि अनलाइनबाट नै आवेदन गर्न सकिने ब्यबस्था सुरु भएपनि त्यो पूर्ण भई नसकेको र सिस्टममा अझै केहि फिचर थप गर्न बाँकि रहेको बताएका छन् ।
यस्तो छ आवेदन दिने तरिका :
१. सम्बन्धित ब्रोकरको टिएमएस वेबसाइट खोल्ने
२. होम पेजमा देखिने रजिस्टरमा क्लिक गर्ने
३. हरेक पेजमा मागिएको विवरण भर्दै जाने र अन्तिममा सबमिट एप्लिकेशनमा क्लिक गर्ने ।
आवेदन गर्दा ६ वटा पेजमा रहेका विवरणहरु भर्नु पर्ने छ । जसमा पहिलो नम्बरमा आफ्नो व्यक्तिगत विवरण, दोस्रोमा ठेगाना विवरण, तेस्रोमा बैंक विवरण, चौथोमा प्रडक्ट विवरण, पाचौमा डिम्याट विवरण भर्नु पर्ने छ भने छैठौमा आवश्यक कागजात अपलोड गर्नु पर्ने छ ।
त्यसपछि मेलबाट जानकारी गराइने र मेल नआएमा लगानीकर्ताले ब्रोकरलाई फोन गर्नु पर्ने ब्यबस्था गरिएको छ ।