
नेपाल स्टक एक्सचेन्ज नेप्सेको अनलाईन ट्रेडिङ प्रणाली टिएमएस सिस्टममा समस्या आएको छ । प्रणालीमा समस्या आएपछि १२ बजेर ३ मिनेटपछि आज शेयर कारोबार हुन सकेको छैन । नेप्सेले समस्या समाधान नभएसम्मको लागि कारोबार स्थगित गरेको हो ।
आज टिएमएसमा मल्टिपल अर्डर हुने समस्या देखिएको हो । अर्थात कुनै एक लगानीकर्ताले १०० कित्ता बिक्रि गर्न अर्डर हालेकोमा ३ पटकसम्म १०० कित्ता गरी ३०० कित्ता बिक्रि हुने समस्या देखिएको हो । यसरी अर्डर नै नहालेको शेयर बिक्रि भएको छ । हाल डिम्याट खातामा भएको शेयर मात्र बेच्न मिल्ने ब्यबस्था छ ।
त्यस्तै खरिद अर्डर तर्फपनि यो समस्या देखिएको छ । १०० कित्ता खरिद गर्न अर्डर दिएकोमा ३ पटक गरेर ३०० कित्ता खरिद भएको छ । लगानीकर्ताले मल्टिपल अर्डर पोस्ट भएको र त्यसलाई क्यान्सल गर्न पनि नमिलेको गुनासो गरेका छन् ।