माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड औपचारिक रुपमा नै सञ्चालनमा आएको छ । बिहीबार आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त सेक्युरिटिजको समुदघाटन गरे ।
काठमाण्डौँको जमलस्थित नेपाल चेम्वर भवनमा कार्यालय रहने गरि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा कार्य थालेको हो ।
माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि तथा बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको विकास र विस्तारको लागि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा स्वागत गर्दै लगानिकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनियता बढाउदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गरे ।
सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक पूर्व अध्यक्ष एंव गैर आवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको यस सेक्युरिटिजले बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।