छोइनक्सनु महँगी, उपभोक्ता भन्छन् – ‘अचाक्ली भयो’

यसोदा चौलागाईं

यसोदा चौलागाईं

Jul 18, 2024 | 07:22:56 PM मा प्रकाशित

काठमाडौंको चाबहिल बस्ने विष्णु सापकोटाको घरमा दुई थोक तरकारी खाने गर्थे । पछिल्लो दुई महिनादेखि भने उनलाई एकछाक तरकारी खान पनि धौंधौं पर्ने गरेको छ । तरकारी बजारमा भेटिएका सापकोटाले भने,‘ मेरो घरमा नियमित दुईथोक तरकारी खाने गरेको वषौं भयो । तर,अहिले एकछाक तरकारी खान पनि मुस्किल पर्न थाल्यो,के जमाना आयो,आयो !’

यस्तै समस्या सुनाउँछिन् नक्सालमा बस्दै आएकी ललिता ठकुरी। उनि भन्छिन्,‘ पाँचवर्षदेखि आम्दानी बढ्न सकेको छैन । तर, महँगी हरेकदिन बढेको छ,हिजो १ हजार ४५० रुपैयाँमा खादै आएको सामान्य चामलको मूल्य अहिले बोराको २ हजार १०० रुपैयाँ पुग्यो यसरी कसरी बाच्ने हो?।’ 

सरकारी तथ्यांकहरुले भने उपभोक्ता मूल्य एकपछि अर्को घट्दै गएको तथ्य सार्वजनिक गर्दै आएको छ । हालैमात्र राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकमा बजार मूल्य ४.१७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ६.८३ प्रतिशत रहेको थियो ।

समीक्षामहिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रा स्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुन्द्रास्फीति २.९४ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचक १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचाङ्क ५.५१ प्रतिशतले घटेको छ ।

तथ्यांकमा मूल्यवृद्धि घटेको भए पनि व्यवहारिक रुपमा दैनिक उपभोग्य बस्तुको मूल्य बढेको छ । कालिमाटी फलफूल तरकारी बजार विकास समितिका अनुसार यतिबेला हरियो धनियाँ, घिउसिमी, च्याउ, लगायतको तरकारी एक महिनामा किलोमै २२५ रुपैयाँसम्मले बढेको छ । ५० रुपैयाँ केजीमा विक्रि भएको लोकल काक्रो प्रतिकिलो १२० रुपैयाँ पुगेको छ । एक महिना अघि ५६ रुपैंयामा बिक्रि भएको हरियो लसुन एक महिनामा १ सय ४६ रुपैयाँसम्म पुगेको छ ।

केही दिनदेखि आएको देशभरको अविरल वर्षाको कारण किसानको उत्पादनमा कमी आउँदा मूल्यवृद्धि भएको कालिमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए । उनले भने,‘ यो समयमा हरेक वर्ष तरकारीको मूल्य बढ्ने गर्छ,किसानले उत्पादनमा कमी आउने र ढुवानीमा समस्या हुँदा महँगी बढेको हो ।’ व्यापारीहरुको नाफा खाने प्रवृत्ति र माग अनुसार बजारमा आपूर्ति नहुने भएकाले समस्या आएको उनको भनाई छ ।

दैनिक रुपमा नेपाली भान्सामा आवश्यक पर्ने सामानहरुको मूल्य वृद्धि हुँदा उपभोक्ताहरु झन् थलिन पुगेको वाणिज्य,आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए । उनले भने,‘ माग र आपूर्ती बीचको समन्वय नहुँदा मूल्य वृद्धि भएको हो ।’

विभागले दैनिक रुपमै कालिमाटीमै गएर अनुगम गर्ने गरेको उनको भनाई छ । उपभोक्तावादी प्रेमलाल महर्जनले विभागले गर्ने गरेको अनुगमन प्रभावकारी नहुँदा उपभोक्ताहरु सधैं महङगींको चपेटामा पर्न बाध्य भएको बताए । उनले भने,‘ “बजार अनुगमनबाट राजस्व उठाउन तर्फ मात्र विभाग र राज्य लागिपरेको छ,उपभोक्ताको दैनिक मूल्यप्रति चासो छैन ।’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved